
पौष १५ । न्यूजिल्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजिल्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढंगबाट १०१ रनले पराजित गरेको छ ।
न्यूजिल्यान्डविरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो ।
खेल बराबरी हुन्छ वा न्यूजिल्यान्डले जित्छ भन्ने अन्योलकै बीच न्यूजिल्यान्ड विजयी भएको हो ।
पाकिस्तानका पुछारको क्रमका खेलाडीहरु शाहीन अफ्रिदी र नासीम शाहले झन्डै सात घण्टा क्रिजमा बिताएका थिए । तर, कमजोर प्रकाशमा भएको खेलमा पाकिस्तानको प्रतिरोध आखिरमा न्यूजिल्यान्डका स्पिनर मिचेल सान्टनरले नासीमलाई ‘कट एन्ड बोल्ड’ गरेर समाप्त पारिदिएका थिए ।
यसअघि, फवाद आलम र मोहम्मद रिजवानबीच पनि पाँचौँ विकेटका लागि १६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । तर, यो जोडीलाई कायले जेमिसनले तोडेका थिए ।
जेमिसनले रिजवानलाई ६० रनमा आउट गरेका थिए भने निल वाग्नरले १०२ रन बनाएका आलमलाई आउट गरेका थिए । पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन मात्र बनाएको थियो ।
न्यूजिल्यान्डले पहिलो इनिङमा ४३१ तथा दोस्रो इनिङमा १८० रन बनाएर जितका लागि ३७३ रनको चुनौती दिएको थियो । जबकि, पाकिस्तानी टोली पहिलो इनिङ्समा २३९ र २७१ रनमा अलआउट भएको थियो ।
यो जितसँगै दुई खेलको यस टेस्ट शृंखलामा न्यूजिल्यान्ड १–० ले अघि भएको छ । अर्को टेस्ट खेल जनवरी ३ देखि क्राइस्टचर्चमा सुरु हुनेछ । रासस