२५ चैत्र । उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा आर्थिक वर्ष २०७८÷२०७९ को पूर्व बजेट सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकका प्रतिनिधि र संघका पदाधिकारी वीच छलफल कार्यक्रमको आयोजना गरिएको हो । छलफल कार्यक्रममा स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष श्री चुननारायण श्रेष्ठले कोभिड १९ को महामारीले मानवीय साथै आर्थिक संकट उत्पन्न भएको विसम परिस्थिति अझै पनि यथावत रहेकोले आगामी बजेट हालको परिस्थितिलाई सम्बोधन गर्ने खालको हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा उहांले बजेटले नीजि क्षेत्रका समस्यालाई सम्बोधन गर्दै आर्थिक समृद्धिका लागि ठोस योजना ल्याउनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै संघका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएको श्रमशक्ति फर्किनेक्रम संगै त्यसको असर आन्तरिक श्रमबजारमा पर्ने देखिएकोले यसले रोजगार सिर्जना र स्रोत परिचालनमा असर पर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै संघका दित्तिय उपाध्यक्ष चिरञ्जििवी सुवेदीले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आर्थिक स्थिति एवम् परिदृश्यलाई ध्यानमा राखी आगामी बजेट तर्जुमा हुनुपर्नेमा जोड दिनुभयो । मन्तब्यकै क्रममा संघका उपाध्यक्ष भोजराज कौडालले कोभिडका कारण क्षतविक्षत भएको पर्यटन, उड्डयन तथा यातायात क्षेत्र, औद्योगिक क्षेत्रको सुधारका साथसाथै पूर्वाधार निर्माण र उत्पादन एवम् रोजगारमूलक उद्योग स्थापनालाई आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक आलोक ज्योती शाक्यले नेपाल राष्ट्र बैंकले आगामी बजेटमा स्थानिय आर्थिक गतिविधि, बजेटका नीतिगत सुधार, आर्थिक विकासका प्रमुख सम्भावना र चुनौती साथसाथै उद्यमी व्यवसायीका आवश्यकतालाई संकलन गरि समेट्ने योजना रहेको बताउनु भयो । कार्यक्रमा उहांले संघबाट प्राप्त भएका राय सुझावलाई सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले केहिदिनभित्रमै संघमा आवद्ध वस्तुगत संघ , कर्पोरेट सदस्य लगायतको भेला आयोजना गरि यस क्षेत्रको विकासकालागि आगामी बजेटमा समेटिने बिषय वस्तु तथा सुझाव संकलन गरि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयमा पठाईने बताउनु भयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनको हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभाबाट पारित प्रस्तावहरु नेपाल राष्ट्र बैंकका उपनिर्देशक आलोक ज्योती श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
