रुसी सेना फिर्ता भए लगाइएका प्रतिबन्धहरू हटाइने बेलायतले सम्भावना व्यक्त गरेको छ ।
बेलायतकी विदेश मन्त्री लिज ट्रसका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको हमला रोके, रुसी सैनिक फिर्ता गए र अब कुनै पनि आक्रमण नगर्ने वचन दिएमा रुसी ओलिगार्क, बैङ्क र व्यावसायीमाथि लगाइएको प्रतिबन्ध हटाउन सकिन्छ ।
रुसी राष्ट्रपतिले पुनः हमला गरेमा प्रतिबन्धको खतरा यथावत रहने ट्रसको भनाइ छ । सम्भावित शान्ति वार्तामा सहयोगका लागि बेलायतको विदेश मन्त्रालयमा कुराकानीका लागि एउटा टिम बनाइएको छ ।
अमेरिका, बेलायत र युरोपेली सङ्घले हालसम्म एक हजार रुसी जनता र व्यापारीमाथि प्रतिबन्ध लगाएको छ । यसै हप्ता रुसले आफ्नो सैन्य अभियान युक्रेनको पूर्वी भागमा केन्द्रित राख्ने घोषणा गरेको बिबिसीमा उल्लेख छ ।
