
चितवन । पहाडबाट लेदो आएर नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस खण्डको चितवनको इच्छाकामना गाउँपालिका ६, चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । सडकमा झरेको लेदो हटाउन डोजर पुगे पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।
“खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन,” तामाङले भने, “हटाउन सुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।” निरन्तर पानी परिरहेकाले सो खण्ड पटक-पटक अवरुद्ध भइरहेको छ । -रासस