
काठमाडौं । भारतले प्याजको निर्यात रोकेको छ । एक महिनामै तीन गुणाले मूल्य बढेपछि भारतले प्याज निकासी बन्द गरेको हो ।
दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढेको थियो । त्यसपछि आन्तरिक माग धान्न भन्दै भारतले सोमबारबाट प्याक निकासी रोकेको हो ।
भारत संसारको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता हो । नेपालसहित बंगलादेश, मलेसिया, श्रीलंकालगायत देश भारतीय प्याजमा निर्भर छन् ।
भारतमा थोक प्याजको हब भनेर चिनिने महाराष्ट्रको दक्षिणी सहर लासलगाउँमा प्याजको थोक मूल्य टनको ३० हजार भारु पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
दक्षिणी प्रान्तहरु कर्नाटका, आन्ध्र प्रदेशमा वर्षामा रोपिने प्याजमा असर परेको बताइएको छ । यस्तै अन्य प्रदेशमा फसल ढिलाइ भएको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले तत्कालै कार्यान्वयनमा ल्याउने गरी जारी गरेको आदेश सोमबारबाटै कार्यान्वयनमा आएपछि प्याज आयात शून्य भएको छ । जसका कारण चाडपर्वको मुखमै भान्साको प्रमुख सामाग्री अभाव हुने देखिएको छ ।
एक महिनाभित्रमा भारतबाट आयात फेरि सुरु नभए दसैंमा प्याजको चरम अभाव हुनेछ ।