Nepali Unicode | Preeti to Unicode

विराटनगर, २८ भदौ । कोरोना महामारीका कारण सिमेन्टको मूल्य घटेको छ । लकडाउनको पहिलो तीन महिनामा उकालो लागेको सिमेन्टको भाउ पछिल्लो समय घटेको हो ।

पहिले प्रतिबोरा ७ सय ८० सम्म पुगेको सिमेन्टको भाउ अहिले ७ सय १० मा झरेको छ ।

कोरोना महामारीको कारण सिमेन्टको बिक्री घट्नु, वर्षात्को सिजन र क्लिंकरको मूल्य घटेका कारण सिमेन्टको भाउ घटेको हो । प्रति मेट्रिक टन १० हजार रुपैयाँ परिरहेको क्लिंकरको मूल्य ८ हजार रुपैयाँ प्रति टन भएपछि सिमेन्टको भाउ पनि घटेको अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष राजेन्द्र राउतले बताए ।

राउतले उद्योग बन्द गर्नुभन्दा सामान्य मुनाफा पाउने उद्देश्यका साथ उत्पादन घटाएर उद्योग सञ्चालन गरिरहेको बताए । भारतबाट क्लिंकर आउन कमी भएको र नेपालकै उत्पादन राम्रो भएकाले पहिलेको तुलनामा क्लिंकरको मूल्यमा कमी आएको उनले बताए ।

अर्घखाची सिमेन्टका सञ्चालक तथा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले उद्योग सञ्चालन गर्नुभन्दा बन्द गर्न उपयुक्त भए पनि विद्युत, श्रमिक र कर्मचारीको तलब दिनै पर्ने भएकाले सामान्य उत्पादन गरेर उद्योग सञ्चालन गरिरहेको बताए ।

उनले मुलुकमा सानादेखि ठूलो आयोजनाहरुको समेत निर्माण कार्य कोरोना संक्रमणका कारण ठप्प रहेकाले सिमेन्टको आन्तरिक खपत घट्दा मूल्य पनि घटेको बताए । सिमेन्ट नै बिक्री नहुने अवस्था आएपछि लगानी मात्रै उठाउने उद्देश्यले पनि उद्योगहरुले भाउ घटाएर सिमेन्ट बिक्री गर्न थालेको उनले बताए ।

नेपालमा सिमेन्टको वार्षिक खपत ८० लाख टन हाराहारी छ । मागअनुसारको उत्पादन नेपाली उद्योगहरुले नै उत्पादन गरिरहेका छन् । नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको मुरारकाले बताए ।

क्लिंकरमा नेपाली उद्योगहरु सक्षम रहेकाले अहिले भारतबाट क्लिंकरको आयात १० प्रतिशतमा सीमित भएको उनले जानकारी दिए ।

अफ सिजन भएको र बजारमा माग घटेकाले सिमेन्टको मूल्य घटेको बन्धन सिमेन्टका सञ्चालक मनिष मारुले बताए ।

प्रदेश नम्बर १ का उद्योगहरुको बजारका रुपमा रहेको पूर्वका बजारमा वीरगञ्ज, हेटौंडासम्मका सिमेन्ट उद्योगका पनि उत्पादन प्रदेश १ लाई नै लक्षित गरी आइरहेकाले प्रतिष्पर्धा पनि बढी हुने गरेको छ ।

प्रदेश १ को झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १, र उदयपुरमा सरकारी स्वामित्वको सिमेन्ट उद्योग गरी १४ सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

नेपालभरि ६३ सिमेन्ट उद्योग छन् । जसमा करिब चार खर्बको लगानी छ । २१ वटा सिमेन्ट उद्योगका आफ्नै चुनढुंगाको खानी छ । ४२ वटा सिमेन्ट उद्योग नेपाल र भारतबाट क्लिंकर ल्याएर सञ्चालित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय