२४ चैत्र । विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस(सुन्तली फाउन्डेसनले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आग्रह गरेका छन् ।
कलाकारद्वय तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर(१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदैछ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।
रंगशाला निर्माण महाअभियानअन्तर्गत खेलकुद समितिका संयोजक ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसहितका विभिन्न खेलका खेलाडीहरूले खेलाडीहरूको मन्दिर निर्माण भइरहेकाले सबैको सहयोगको अपिल गरेका हुन् ।
आइतबार विज्ञप्ति जारी गरी उनीहरूले रंगशाला निर्माण खेलाडीहरूको सपना रहेको र भविष्यमा देशकै ठूलो खेलकुद संरचना बन्ने विश्वास गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ , ‘महाअभियानमा जोडिन पाउँदा हामी खेलाडीलाई गर्व महसुस हुन्छ । खेलाडीको मन्दिर निर्माणमा हामी खेलाडी सधैं साथमा छौं । यो संरचना कुनै व्यक्तिविशेषको नभई देशको सान राख्ने खेलाडीका लागि भएकाले देशरविदेशमा रहने सबै नेपालीलाई सहयोगको आग्रह छ ।’
