
विराटनगर, २६ भदौ ।
विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलमा परिवारसँग बस्दै आएकी ३० वर्षीया विमला ऋषिदेवको बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको हो । प्रसूति व्यथाले च्यापेपछि उनलाई बिहान १ बजेतिर श्रीमान शिवु ऋषिदेवले कोशी अस्पताल पुर्याएका थिए । तर कोशीले बेड खाली नभएको भन्दै भर्ना लिन अस्वीकार गरेर उपचारका लागि अरु नै अस्पताल लैजान भन्यो ।
फर्काएर घरमा लगिएकी महिलाको बच्चा जन्माउन नपाउँदै उज्यालो नभइकन ज्यान गएको स्थानीय विकेश मुखियाले बताए ।
उनका अनुसार दुई पटकसम्म शल्यक्रिया गरेर प्रसूति गराइसकेको हुँदा तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै अस्पतालले फिर्ता पठाएको हो । बच्चा जन्माउन नसक्दा प्रसूति व्यथाले छटपटाउँदा छटपटाउँदै गर्भवतीको मृत्यु भएको उनले जानकारी दिए ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएको ऋषिदेव परिवारले ज्यालामजदूरी गरेर जीविका चलाउँदै आएको स्थानीयले बताए ।
सुनसरीको दुहवी घर भए पनि कामको सिलसिलामा शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए ।

‘पारिवारिक आर्थिक अवस्था कमजोर थियो । त्यही कारण अस्पतालले भर्ना लिन अस्वीकार गरेको हुन सक्छ,’ मुखियाले भने, ‘मृत्युपछि शव उठाउँदा लाग्ने खर्च गर्ने पैसा पनि मृतकका परिवारसँग भएन । प्रसूति गराउन लगिएकी गर्भवतीले उपचारनै नपाएर ज्यान जानु एकदमनै दुःखद् हो ।’
स्थानीय अक्षय सहनीका अनुसार मृतकका ९ र ३ वर्षका दुई छोरी छन् । अढाई वर्षका छोराको दुई वर्षअघि बस्ता खोलामा डुबेर मृत्यु भएको उनले बताए ।
दाहसंस्कार गर्ने पैसा नहुँदा मृतकको शव घरबाट उठ्न नसक्ने अवस्था भएपछि प्रदेश सांसद एवं नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले सहयोग गरेका थिए ।
कार्कीले पैसा र आवश्यक सर-सामानको सहयोग गरिदिएपछि शवको अन्त्येष्टि भएको जानकारी सहनीले दिए ।
प्रदेशसभा सदस्य कार्कीले दुई पटकसम्म शल्यक्रिया गरिएका कारण तेस्रो पटक गर्न नमिल्ने भन्दै कोशी अस्पतालले प्रसूतिको अन्तिम अवस्थामा गर्भवतीलाई फर्काइदिएको बताए ।
घटनापूर्व आफूसमक्ष जानकारी नआएको बताउँदै उनले कोशीले फर्काइदिएपछि आर्थिक रूपमा विपन्न ऋषिदेव परिवारले अर्को अस्पताल लैजान रकम जोहो गर्दैगर्दा दुःखद् घटना भएको जानकारी दिए ।
सरकार र प्रशासनले बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पताललाई निर्देशन दिएको भए पनि उपचार नपाएर सर्वसाधारणले अकालमा ज्यान गुमाइरहने अवस्था आउँदा सरकार कहाँ छ भनेर कार्कीले प्रश्न गरे ।
पैसा अभावमा अन्त्येष्टि गर्न लैजान नसक्दा बिहानैदेखि घरमा शव रहेको भन्दै उनले दाहसंस्कारको सबै काममा सहजीकरण गरिदिएको बताए ।
‘प्रसूति व्यथाले च्यापेर अस्पताल लैजाँदा पनि उपचार नपाएर गर्भवतीले मृत्युवरण गर्नु कहाँसम्मको दुःखद् घटना हो ?,’ कार्कीले भने, ‘यसरी धेरै सर्वसाधारणले उपचार नपाएर जीवन त्यागिरहँदा स्वास्थ्य उपचारको अवस्था कस्तो छ भन्ने उजागर भएको छ ।’
आर्थिक अभाव हुँदा र अस्पतालको लापरबाहीका कारण सर्वसाधारणले ज्यान गुमाउने अवस्था आउनु सरकारको लाचारीपन भएको उनको आरोप छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलाहरूलाई अस्पतालले फिर्ता नपठाउने गरेको बताए ।
‘यदि कसैले फिर्ता पठाएर गर्भवतीको मृत्यु भएको रहेछ भने छानबिन गरेर कारवाही गर्छु,’ उनले भने, ‘प्रसूतिका लागि ल्याइएका महिलालाई तत्काल उपचार थाल्नु पर्नेमा फिर्ता पठाउनु गम्भीर लापरवाही हो ।’
दासले गर्भवती र प्रसूति गराउन ल्याइएका महिलाको उपचारमा कुनै पनि कमजोर हुन नदिने अस्पतालको नीति रहेको उल्लेख गरे ।
यसअघि विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ८१ वर्षीय डिगबहादुर राईलाई पनि विराटनगरबाट बुधबार हेलिकोप्टर चार्टर गरेर घर फर्कनुपरेको थियो ।
त्यसैगरी यसअघि मोरङको कानेपोखरी गाँउपालिकाकी सात महिनाकी गर्भवती २३ वर्षीया सविना थापा (दर्जी), पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राई, उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राईलगायतको मृत्यु विराटनगरका अस्पतालहरूले उपचार गर्न नमान्दा भइसकेको छ ।