३ चैत ।नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोतीबाट आज बिहान दुई युवा लागुऔषध सहित पक्राउ परेका छन् । कावासोती १६ को चालीसकिलो जंगलमा सवारी साधनमा सुरक्षा जाँचका क्रममा चितवनका दुई युवा लागुऔषध सहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट–सुस्तापूर्वका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१ख ९८१६ नम्बरको यात्रुबसबा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा चितवनको भरतपुर–२७ का ३१ वर्षीय विनोद चौधरी र भरतपुर–१७ का ३३ वर्षीय विजय लामा रहेको गिरीले बताए । उनीहरुको साथबाट नुर्फिन ९७ ट्याब्लेट, डाइजापाम ९७ ट्याब्लेट र फेनारगन ९७ ट्याब्लेट गरी जम्मा २९१ ट्याब्लेट लागुऔषध बरामद गरिएको गिरीको भनाइ छ ।
पक्राउ परेका दुवै जनालाई लागु औषध मुद्दामा अनुसन्धान अगाडि बढाइएको गिरीले जानकारी दिए ।
