
फाल्गुण २१। रत्ननगर १० मा रहको क्रिष्टल कलेजमा आफुले पढाउने कक्षा १२ मा पढ्ने छात्रालाई फेशबुकमा अश्लील म्यासेज पठाउने शिक्षक हरि प्रसाद न्यौपानेलाई १ वर्ष सम्म कैद हुन सक्ने प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय रत्ननगरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाका अनुसार आफुले पढाउने कक्षा १२ की छात्रालाई आफुले संरक्षण गर्नु पर्ने ठाउँमा गलत आसयको म्यासेज पठाएको पाइए पछि प्रहरी प्रतिवेदनको आधारमा सिडीओ कार्यालयमा सार्वजनिक हित तथा नैतिकता विरुद्धको मुद्धा चलाइएको बताए । उनले सो मुद्धामा न्यौपाने दोषी ठहरीए कानुन अनुसार १ वर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाए हुने प्रावधान रहेको बताए ।
डिएसपी रानाले कलेजमा लफडा भएको खबर पाएपछि प्रहरीको टोली उक्त ठाँउमा पुगेको र त्यहाँबाट सो घटनाको बारेमा सबै उजागर भएको बताए । डिएसपी रानाले म्यासेज पठाउने विद्यार्थी मात्र १७ वर्षको रहेको पाइएकोले अभिभावक सहित बोलाएको भएपनि उजुरी भने नआएको बताए । उजुरी नआएपनि प्रमाणहरु न्यौपाने बिरुद्ध पुग्ने देखिएकाले र घुमाउरो सैलिमा म्यासेज लेखेको पनि न्यौपानेले स्विकारेकाले बिहिवारनै सिडियो कार्यालयमा लगेर मुद्धा दर्ता गरि ७ दिनको म्याद थप गरि हिरासतमानै राखि अनुसन्धान भैरहेको बताए । सोहि कलेजको अरु शिक्षकले पनि बिद्यार्थीलाई म्यासेज गरेको भन्ने हल्ला छ नि भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा डिएसपी रानाले आफुले पनि सो कुरा सुनेको भएपनि आधिकारीक रुपमा कोही पनि उजुरी लिएर नआएको बताए । उनले यसरी साइबर क्राइम गर्ने जोकोहीलाई पनि आफुले कुनै पनि हालतमा नछाड्ने बताए ।
उता कलेज प्रशासनले भने शिक्षक न्यौपानेको घटना सार्वजनिक हुने बित्तिकै बिहिवारनै कलेजबाट न्यौपानेलाई निस्काशन गरिएको जनाएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष कलाधर पौडेलले नेपालीको आवाज डटकमसँग कुराकानी गर्दै बिहिवार बिहान अश्लिल म्यासेजको बारेमा अरु बिद्यार्थीहरुलाई पनि जानकारी भएपछि उनिहरु आक्रमक बनेर बिद्यालयनै तोडफोडमा लाग्दा प्रहरी बोलाएर जिम्मा लगाउनु पर्ने अवस्था आएको बताए ।
उनले कुनै शिक्षकको गल्तिले सिंगो संस्थाले बदनाम भोग्नु पर्ने अवस्था आएको बताउदै त्यस्ता गलत नियत राख्ने जो कोही शिक्षकको पक्षमा कलेज नरहेको बताए । घटना सार्वजनिक हुने बित्तिकै आरोपित शिक्षक न्यौपोनेलाई तत्कालै बोर्ड बैठकनै बसेर निस्कासन गरिएको पौडेलले जानकारी दिए ।