Nepali Unicode | Preeti to Unicode

१४ फागुन ।जनाताको माझमा स्मार्ट सिटीको नारा दिएर भरतपुर महानगरपालिकामा निर्वाचन लडेकाहरुले नेतृत्व गरेका छन् । निर्वाचन अघि जनप्रनिधिले भनेका कुराहरु नारामा मात्रै सीमित रहेको यथार्थ भरपुरमा पुगेपछि देखिन्छ ।
अव्यवस्थित सहरीकरणसँग भरतपुरमा फोहोर व्यवस्थापनमा समेत समस्या देखिएको छ । महानगरका घरहरुबाट निस्किएको फोहोरको उचित व्यवस्थापन हुन नसक्दा नारायणी नदीकिनारमा लगेर मिल्काउने गरिएको छ । भरतपुर–३ मा पर्ने नगर वन क्षेत्रमा महानगरको फोहोर फालिदै आएको छ ।
महानगरपालिकाले अस्थायी रुपमा भन्दै नगर वन क्षेत्रमा फोहोर थुपार्दै आएको छ । वर्षात्को समयमा नगर वनको वारीपट्टी नदीकिनारमा फोहोर फाल्ने गरिएको छ भने हिउँदमा नगर वनमै लगेर फोहोर थुपारिदै आएको छ । फोहोरका कारण त्यस क्षेत्र मा दुर्गन्धसमेत फैलिएको छ ।
घरबाट निस्किने तथा अस्पतालबाट निस्किने सबै प्रकारका फोहोरहरु वर्गीकरण बिना नै यस स्थानमा लगेर फाल्ने गरिएको छ । भरतपुर महानगरपालिकाले भरतपुर–३ र ४ मा पर्ने नगर वन र वनआसपासका क्षेत्रमा १५ वर्षदेखि मनपरी तरिकाले फोहोर फाल्दै आएको छ । नगर वनको छेउमा फोहोर थुपार्दा पानी नै प्रदूषित भएको भरतपुर–४ को नारायणी दोभान टोल विकास संस्थाका अध्यक्ष सूर्य बरालले बताए ।
गएको बर्खामा पनि फोहोर फाल्न नदिएपछि महानगरले फोहोर अन्यत्रै लगेको उनले बताए । नारायणी दोभानका स्थानीयहरुले विरोध गरेपछि भरतपुर–३, सन्सारी टोलअन्तर्गत पर्ने नदीछेउमा फोहोर फाल्ने गरिएको थियो । महानगरपालिकाले फोहोर फाल्दा दुुगन्ध फैलिएको भन्दै स्थानीयवासीले बेलाबेलामा विरोध गर्दै आइरहेका छन् ।
कोरियन सरकारसँगको सहकार्यमा महानगरपालिकाले भरतपुर–२ को वन क्षेत्रमा फोहोर फाल्ने तयारी गरेको भए पनि काममा ढिलाइ भइरहेको छ । नारायणगढ मुग्लिन सडक खण्डनजिकै जलदेवी सामुदायिक वनमा निर्माण हुने डम्पिङ साइडको स्थानीयले विरोधसमेत गरेका थिए । दुर्लभ वन्यजन्तुहरु हिँडडुल गर्ने स्थानमा फोहोर फाल्न नहुने जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापा ‘निरु’ले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर