
१४ फागुन।महिन्द्रा ट्याक्टरको आधिकारिक बिक्रेता बचास ब्रदर्श प्रालि र पटिहानी फुटबल क्लबबीच सहकार्य भएको छ । महिन्द्रा ट्याक्टरले क्लबलाई एक वर्षका लागि प्रायोजन गर्ने सहमति पत्रमा आज हस्ताक्षर गरिएको छ ।
बतास अर्गनाइजेशनका नायब महाप्रबन्धक राजेश रानाभाट र क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाले सम्झौतापत्रमा आज चितवन जिल्ला खेलकुद विकास समितिको कार्यालयमा हस्ताक्षर गरेका हुन् । अखिल नेपाल फुटबल संघ एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्की, एन्फा चितवनका उपाध्यक्ष विजय घले र एन्फा चितवनका महासचिव रामहरि ढकालको रोहबरमा महिन्द्र ट्याक्टर र पटिहानी फुटबल क्लबबीच हस्ताक्षर गरिएको हो ।
हस्ताक्षरसँगै महिन्द्र ट्याक्टरले क्लबलाई एक वर्षको एक लाख ५० हजार रुपैयाँ तथा खेलकुदका सामग्री सहयोग गर्नेछ । त्यसैगरी, पटिहानी फुटबल क्लबले भाग लिने प्रतियोगितामा महिन्द्र ट्याक्टर पटिहानी फुटबल क्लब लेख्ने, क्लबले आयोजना गर्ने हरेक कार्यक्रममा महिन्द्रा ट्याक्टरको ब्यानर राख्नेलगायतको विषयमा हस्ताक्षर गरिएको हो ।
पटिहानी फुटबल क्लबले भरतपुरका वडा नम्बर १३, १४ र २२ का खेलाडीहरुलाई समेट्ने अध्यक्ष तिमिल्सिनाले बताए । खासगरी ग्रासरुट लेभलका खेलहरु र प्रशिक्षणमा बढी जोड दिँदै अन्य प्रतियोगितामा समेत सहभागी हुने तिमिल्सिनाको भनाइ छ । कार्यक्रममा एन्फा चितवनका अध्यक्ष श्रेष्ठले क्लबले फुटबल क्षेत्रमा पटिहानीको शाख पुनः फिर्ता गर्नेमा आफू विश्वस्त रहेको बताए ।