
७ फाल्गुन । ७१औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर भरतपुर अस्पतालका बिरामीलाई फलफुल तथा जुस वितरण गरिएको छ । चितवन उद्योग संघले बिरामीहरुलाई फलफुल तथा जुस वितरण गरेको हो । संघले शुक्रबार बिहान अस्पतालमा रहेका २०० जना बिरामीलाई फलफुल तथा जुस वितरण गरेको हो ।
फलफुल तथा जुस वितरणको उद्घाटन राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले गरिन् । उनले अस्पतालको आकस्मिक कक्षका बिरामीलाई फलफुल प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
आकस्मिक कक्षबाट सुरु गरिएको कार्यक्रममा अस्पतालका सबै वाडका बिरामीलाई फलफुल वितरण गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, चितवन उद्योग संघका अध्यक्ष राजुसहित संघका पदाधिकारीहरुले फलफु वितरण गरेका थिए ।
यसैबीच, संघले बर्सेनि राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर मानव सेवा आश्रममा आश्रित असहाय व्यक्तिहरुलाई भोजन गराएको संघका कार्यकारी अधिकृत गणेश प्रसाद सिलवालले बताए । संघले बर्सेनि प्रजातन्त्र दिवसको दिनमा मानव सेवा आश्रममासमेत गराउँदै आएको सिलवालको भनाइ छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र दिवसकै अवसर पारेर भरतपुरको आँपटारी चोकमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन समेत गरिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिसहितको सहभागितामा झण्डोत्तलन गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले राष्ट्रिय प्रजातन्त्र दिवसको महत्वको बारेमा ब्याख्या गरेका थिए । जहानियाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्र आएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइदै आएको छ ।