
४ फागुन । इन्डियन प्रिमियर लिग आ२पीएल खेल्ने टोली किंग्स एलेभेन पञ्जावले आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।
फ्रेन्चाइजले आइपीएलको १४औं संस्करणअघि नाम परिवर्तन गरेर पञ्जाव किंग्स राख्ने भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।
युएईमा भएको १३औं संस्करणमा किंग्स ११ पञ्जावसँगै ८ फ्रेन्चाइजले प्रतिस्पर्धा गरेका थिए ।
टाइम्स अफ इन्डियाका अनुसार पञ्जावले लामो समयदेखि नाम परिवर्तन गर्न चाहेको र आईपीएल १४ अघि त्यो हुने जनाएको छ ।
‘लामो समयदेखि पञ्जाव नाम परिवर्तन गर्ने योजनामा छ र यो आईपीएल अघि नै हुनेछ । यो तत्कालको निर्णय होइन,’ बीसीसीआईले सोमबार पीटीआईलाई बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
यसअघि दिल्ली फ्रेन्चाइजले पनि आफ्नो नाम परिवर्तन गरि दिल्ली डेयर डेभिल्सबाट दिल्ली क्यापिटल्स राखेको थियो ।
पञ्जावले अक्सनको अघिल्लो दिन मुम्बईमा कार्यक्रम गरेर नयाँ लोगो र नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
पञ्जावले नाम परिवर्तन गर्दै पछिल्ला कमजोरी हटाएर नयाँ युगको सुरुआत गर्ने योजना बनाएको छ । आइपीएलको १३ वर्षे इतिहासमा पञ्जाव एक पटक उपविजेता बनेको छ ।
आइपीएलको १४औं संस्करण अप्रिलमा आयोजना गर्ने तयारी भइरहेको छ । त्यसका लागि आगामी बिहीबार चेन्नाईमा मिनी अक्सन हुँदैछ ।
पञ्जावले अक्सनबाट बढीमा ९ खेलाडी राख्न पाउनेछ र उसको ५३।२० करोड भारु रकम बाँकी छ ।