Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

फागुन २ । पर्यटकीय नगरी सौराहा प्रणय दिवस भ्यालेन्टाइन डे मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो ।
रेष्टुरेन्ट एण्ड बार एसोशिएसन रेबान सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ । रेबानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन् । दुईदिने महोत्सव आजसम्म जारी रहनेछ । महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् ।
यस्तै ती जातिले सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिरहेका छन् । उहाँका अनुसार आज ब्राह्मणसहित विभिन्न जातिका नौ जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । थारु, तामाङ, कुमाल, मगर, नेवारलगायत जातिले आआफ्ना संस्कृति झल्कने प्रस्तुति देखाउने छन् । अध्यक्ष गिरीले भने, “अन्य व्यवसायी पनि उत्साहित भएका छन् ।” सबैले यस्ता कार्यक्रम हरेक शुक्रबार गर्न सुझाएको उनले बताए । स्वीकृति पाएमा रेबानले हरेक हप्ता कार्यक्रम गर्ने उनको भनाइ थियो ।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाका सबै होटल भरिएका थिए । देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक घुम्न आएका छन् । समूहगतरुपमा घुम्न आउनेको सङ्ख्या पनि राम्रो रहेको उनको भनाइ छ । सङ्घका अध्यक्ष दीपक भट्टराईले आज पनि सौराहाका सबै होटल भरिने अपेक्षा गरिएको बताए । उनले भने, “लगातार बिदा र त्यसपछि परेको प्रणय दिवसले सौराहा भरिएको छ ।”
अंग्रेजी नयाँ वर्षको दिनपछि शनिबार सबैभन्दा बढी पर्यटक सौराहा आएको उनको भनाइ छ । पर्यटकको सङ्ख्या बढेसँगै अन्य पर्यटकीय गतिविधि पनि चलायमान भएको छ । हात्ती सफारी, डुङ्गा शयर, जीप सफारी, थारु सांस्कृतिक प्रदर्शनीसँगै अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको छ । राति अबेरसम्म सौराहाका राप्ती नदी किनारका रेष्टुरेन्टमा पर्यटक रमाउने गरेका छन् ।
सौराहामा पाँच हजार ५०० पर्यटकलाई एकैपटक राख्नसक्ने क्षमता छ । यहाँ १२० होटल र करीब १०० रेष्टुरेन्ट सञ्चालनमा छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्छन् । विशेष पर्वमा भने सौराहा घुम्नका लागि मात्रै पनि पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय