
२८ माघ। राष्ट्रिय भलिबल टिमका अधिकांश खेलाडी रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको टाइगर कप आमन्त्रित राष्ट्रिय भलिबल च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ ।
बुधबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आर्मी स्थानीय टोली गण्डकीसँग ३(१ को सेटमा पराजित भएको हो । आर्मीले पहिलो सेट जिते पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै गण्डकीले आर्मी विरुद्ध लगातार तीन सेट जितेको हो ।
राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी नै आर्मीको प्लेइङ सेटमा रहेपनि घरेलु दर्शकको साथ पाएको गण्डकीले आर्मीलाई पहिलो खेलमै स्तब्ध बनायो । आर्मीले पहिलो सेट २५(२२ ले जितेर खलेमा अग्रता बनाएको थियो । तर त्यसपछि गण्डकीले शानदार खेल खेल्यो । दोस्रो सेटको सुरुवातदेखि नै अग्रता बनाउँदै गएको गण्डकीले २५(१४ ले सेट जित्दै खेल बराबरीमा पुर्यायो । त्यसपछि गण्डकीले तेस्रो सेट २५(१८ र चौथो सेट २५(१७ ले जित्दै खेल जितेको हो ।
कोरना भाइरस कोभिड १९ महामारीका कारण लामो समयपछि भलिबल खेल फेरि सुरु भएको हो । जसले गर्दा खेलाडीले स्वभाविक रुपमा प्रदर्शन गर्न पक्कै सकेका छैनन् । तर विभागीय टोलीले प्रदेशको टोलीसँग स्वभाविक खेल खेल्न सकेन ।
आर्मी टिममा रहेका १२ मध्ये ११ खेलाडी राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् । उता गण्डकीमा भने राष्ट्रिय टिमका कुनै खेलाडी छैनन् ।
पहिलो खेलमा नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको गण्डकीले आर्मीलाई हराउँदै ३ अंक जोडेको छ र फाइनल पुग्ने आशा कायमै राखेको छ ।
चार टोली सहभागि प्रतियोगितामा राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । बुधबारै नेपाल पुलिस र एपिएफबीचको खेल पनि हुँदैछ ।