Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

२६ माघ ।चितवन प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध आन्दोलनरत नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मेयर ठाकुर ढकाललाई ‘बाइपास’ गरेर चितवन माडी नगरपालिकाको अयोध्यापुरीमा राममन्दिर निर्माणलाई तीब्रता दिँदै मन्दिरमा प्रतिस्थापन गर्न राम र सीताको मूर्ति तयार गरेका छन्।
पार्टी विभाजनपछि आफ्नो पक्षमा समर्थन जुटाउने कसरत तिब्र पारेका ओलीले प्रचण्डलाई चुनौति दिँदै उनको निर्वाचन क्षेत्र माडीको आयोध्यापुरीमा राममन्दिर निर्माण गर्न लागेका हुन्। त्यहाँ प्रतिस्थापन गर्न बालुवाटारमा उनले तयार पारेको राम र सीताको मूर्तिको फोटो आइतबार सार्वजनिक भएपछि यसलाई लिएर अनेक अड्कलबाजी सुरु भएको छ।
फोटो सार्वजनिक गर्ने ओली निकट चितवनका नेकपा युवा नेता सुदीप रेग्मीले प्रधानमन्त्री ओलीले माडीको अयोध्यापुरीमा निर्माण गर्ने राममन्दिरमा प्रतिस्थापन गर्नका लागि राम र सीताको मूर्ति तयार पारेको जानकारी आफूहरुलाई दिएको बताएका छन्।
रेग्मीले ती मूर्तिहरु र प्रधानमन्त्री ओलीसँग खिचेका तस्बिरहरु आफ्नो फेसबुकमा सार्वजनिक गर्दै भनेका छन्, ‘अयोध्याधामका लागि तयार गरिएका रामसीताको मुर्ति आफ्नै आँखाले देखेर आइयो। अब माडीलाई मणि बनाउने सम्माननीय प्रम ओलीको सपना पूरा हुने लक्षण देखिँदैछ।’
रेग्मीका अनुसार शनिबार बालुवाटारमा सहकारीसम्बन्धी कार्यक्रम समापनपछि आफ्ना क्षेत्रका समस्या राख्न खोजेका बेला रेग्मीसहितका युवाहरुलाई प्रधानमन्त्री ओलीले भनेका थिए, ‘चितवनका केटा हो लौ यता आओ, रामसीताको मूर्ति हेर्न। यी मूर्तिहरुलाई चाँडो भन्दा चाँडो माडीमा आकर्षक शैलीमा व्यवस्थापन गर्नुपर्छ। त्यसमा तिमीहरु सबैको साथ चाहिन्छ।’ मूर्ति हेरेपछि आफूहरु उत्साहित भएको रेग्मीले बताए। त्यसक्रममा उनीहरुले प्रधानमन्त्री ओलीलाई समाजका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर अयोध्याधाम क्षेत्र विकास समिति गठन र बजेट बिनियोजनका लागि सुझाव दिएका थिए।
रेग्मीले गत निर्वाचनमा प्रचण्डलाई जिताउन माडी पुगेका बेला ओलीले माडीलाई मणि बनाउने घोषणा गरेको र हाल आएर उनले त्यसलाई यथार्थमा परिणत गर्न खोज्दा आफूहरु उत्साहित भएको बताए। उनले आइतबार साँझ देशसञ्चारसँग भने,‘ यसअघि प्रचण्डलाई चुनाव जिताउन प्रधनमन्त्री ओली यहाँ आउँदा माडीलाई मणी बनाउने प्रतिवद्धता जनाउनु भएको थियो। त्यो पुरा हुन्छ कि हुँदैन भन्नेमा हामी चिन्तित थियौँ। आफ्नो निर्वाचन क्षेत्रको विकासमा प्रचण्डले ध्यान दिनु भएन। तर प्रधानमन्त्री ओलीले यो क्षेत्रको धार्मिक र पर्यटकीय विकासका लागि सक्रियता देखाउनु ठूलो कुरा हो।’
बालुवाटारमा राम र सीताको मुर्ति देखेपछि दंग परेको बताउने ओली निकट चितवनकी राष्ट्रियसभा सदस्य दिलकुमारी रावल ‘पार्वती’ले आफ्नो प्रतिवद्धता पूरा गर्ने प्रधानमन्त्री ओलीको स्भाव भएकाले ओध्यापुरीमा छिट्टै राममन्दिर निर्माण गर्ने विश्वास व्यक्त गरिन्।
उनले भनिन,‘त्यो क्षेत्रको भूगोल,पर्यावरण र प्राविधिक पक्षले राममन्दिर निर्माणमा सहयोग गरेको छ। त्यसलाई आधार मानेर प्रधानमन्त्री ओलीले त्यो क्षेत्रमा राममन्दिर निर्माणलाई तिब्रता दिनु भएको हो। त्यसमा हाम्रो साथ छ। हामीले बालुवाटारमा राम र सीताका मूर्ति नै देखिसकेपछि ढुक्क भएका छौँ।’ ओलीले यी मूर्तिहरु आफ्नै लगानीमा तयार पारेको रावलले दाबी गरिन्।
ओलीले माडी नगरपालिकाको साविकको अयोध्यापुरीमा रामको जन्म भएको र यस क्षेत्रमा अयोध्याधामको निर्माण गर्नुपर्ने अभिव्यक्ति केही समय यता सार्वजनिकरुपमा दिँदै आएका थिए।
माडी नगरपालिकाका मेयर ठाकुर ढकालले ओलीको अभिव्यक्तिलाई विश्वास गरेर आफूलाई आधिकारिक जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नगराए पनि माडीको धार्मिक र पर्यटकीय विकासका लागि राम मन्दिर निर्माणको समन्वयका लागि वडा अध्यक्षको पछि लागेर काठमाडौँसमेत आएको दाबी गरे। तर हाल आएर प्रधानमन्त्री ओलीले आफूलाई ‘बाइपास’ गरी मन्दिर निर्माण गर्न लागेको र त्यहाँ प्रतिस्थापन गर्न बालुवाटारमा राम र सीताको मूर्ति तयार गरेको सुन्दा आश्चर्यमा परेको उनले बताए। राममन्दिर निर्माणका लागि माडी नगरपालिकाले राम जन्म भूमि खोज तथा अनुसन्धान समिति गठन समेत गरिसकेको थियो।
मन्दिर निर्माणका लागि समितिले वडा नम्बर ९ स्थित कृष्णनगरमा एक सय विगाह जमिन छुट्याउने निर्णय गर्दै थप आवश्यक प्रक्रियाका लागि पत्र लेखेर प्रधानमन्त्री कार्यालयमा पठाइएको थियो। पत्रमा समग्र माडीलाई नै अयोध्याधाम घोषणा गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिदिन आग्रहसमेत गरिएको थियो।
तर त्यसपछि प्रधानमन्त्री कार्यालयले आफूसँग मन्दिर निर्माणलाई लिएर कुनै किसिमको समन्वय नगरेको ढकालको दाबी छ। उनले भने, ‘म यो नगरपालिकाको मेयर भएको नाताले र यो क्षेत्रको विकास हुन्छ भने अघि किन नसर्ने भनेर सक्रिय भएको थिएँ। तर मसँग कुनै दिन पनि सम्पर्क गरिएन।’
ढकालका अनुसार केही समयपछि प्रधानमन्त्री ओलीले खटाएका निजी ‘कन्सलटेन्ट’ मनोज गुप्ताले आफूले मन्दिर निर्माणका लागि गुरुयोजना निर्माण गरिरहेको जानकारी गराएका थिए। तर अचानक बालुवाटारमा राखिएका राम र सीताको मूर्तिहरुको तस्बिर देखेपछि आफू अन्यौलमा परेको उनको भनाई छ।
उनले भने, ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनले यस्तो काम गर्दा सम्बन्धित स्थानीय सरकारसँग समन्वय हुनुपर्ने भन्छ। आर्थिक सहयोग केन्द्र सरकारले गर्न सक्ने भयो। तर बाँकी जग्गा छुट्याउने, गुरुयोजना निर्माण गर्नेलगायत अन्य व्यवस्थापनका काममा हामी आफैले गर्ने हो। तर प्रक्रिया मिचेर प्रधानमन्त्री ओलीले काम गर्नु भएको छ।’
राममन्दिर निर्माणको थालनीसँगै ६ महिना अघि आगलागीबाट क्षतिग्रस्त चेपाङहरुको घर निर्माण गर्नुपर्ने माग ओलीसमक्ष राखिएको थियो। चेपाङ समुदाय अहिले पनि पालमुनि जीवन गुजारा गर्न बाध्य भएका छन्। तर ओलीले चेपाङका लागि घर निर्माण गर्नेतर्फ चासो नदेखाएर मन्दिरको राजनीति गरेको ढकालले आरोप लगाए।
ढकालले भने, ‘हामीले चेपाङका घर निर्माण पनि सुरु होस्, राममन्दिर निर्माणको काम पनि सुरु होस् भन्ने चाहेका थियौँ। तर न चेपाङका लागि केन्द्र सरकारले घर निर्माण सुरु गर्‍यो, न राममन्दिर निर्माणका लागि हामीसँग समन्वय गर्‍यो।’ ढकालले प्रधानमन्त्री ओलीले राजनीतिका नाममा आफूसँग समन्वय नगरी निकृष्ठ काम गरेको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय