
माघ २२। नेपाल कम्युनिस्ट पार्टी नेकपाले गरेको आमहड्तालविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । विवेकशील साझा पार्टीको अभियान विभागले प्रदर्शन गरेको हो ।
उक्त पार्टीले विगत १० वर्षदेखि कुनै पनि पार्टीले बन्द आह्वान गर्दा विरोध गर्दै आएको छ । प्रदर्शनमा सहभागीहरुले ‘बन्दले देश बन्दैन’, ‘नेपाल खुला छ’, ‘गरी खान देऊ’जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए ।
सो क्रममा पार्टीका संयोजक मिलन पाण्डेले भने, “विवेकशील साझा पार्टी आफ्ना राजनीतिक उपादेयताका लागि यस्ता कुसंस्कारगत आपराधिक अभ्यासको सहारा कहिल्यै लिने छैन । नागरिकको मौलिक हक, अधिकार सुरक्षण तथा सुसंस्कृत राजनीतिक अभ्यासका पक्षमा विवेकशील साझा आम नेपालीसँगै अग्रपंक्तिमा उभिनेछ ।’
नागरिकको स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने अधिकार र आम जनजीवन प्रतिकूल हुने गरी आह्वान हुने बन्द, हड्तालको विवेकशील साझाले प्रतिरोध गर्ने पार्टीका नेताहरूले बताए ।