
माघ २२ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आमहड्तालको प्रभाव कम हुँदै गएको छ । बिहीबार बिहान केहीबेर सडक सुनसान झैँ देखिए पनि दिउँसो सवारी चल्न थालिसकेका छन् ।
सडकमा कार्यकर्ताको उपस्थिति कम देखिएको छ । काठमाडौंका बौद्ध, जोरपाटी, चाबहिल, गौशाला, जमल, लैनचौर, सामाखुसी, बालाजु, बाफल क्षेत्रमा सार्वजनिक बस चलिरहेका छन् ।
नयाँ बसपार्कबाट यात्री बोकेर सवारी–साधन चाबहिल, बौद्ध, जोरपाटी पुगेका छन् । चाबहिल, बौद्ध क्षेत्रमा फाट्टफुट्ट पसल पनि खुल्न थालेका छन् । फुटपाथमा पनि व्यापार गरिरहेको देखिन्छ ।
भित्री सडकमा साना तथा किराना पसल प्रायः सबै खुलेका छन् । कलंकी, नयाँ बसपार्कदेखि गौशाला, चाबहिल, जोरपाटीको सडकमा हड्तालको अवरोध देखिएको छैन ।