
माघ २० । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको अवशिष्ठ र संविधानले दिएको अधिकार भएका बताएका छन् ।
मंगलबार बहस सक्ने क्रममा उनले भने, ‘‘संसद् विघटन प्रधानमन्त्रीको संविधानभित्रैको अधिकार हो । अवशिष्ठ अधिकार हो । अदालतले बदर गर्छ भन्ने विश्वास छैन ।’’
उनले ताजा जनादेशमा जानबाट अदालतले रोक्न नमिल्ने पनि बताए । निर्वाचनको तयारीमा निर्वाचन आयोग र दलहरू लागिसकेको भन्दै उनले विवादित मनोदशामा रहेको संसद् पुनःस्थापन गर्न नहुने जिकिर गरे ।
सोमबार दिनभर बहस गरेका उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरेका थिए । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा १३ दिनसम्म प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै परेका १३ रिट निवेदकका पक्षबाट बहस सकिएपछि सोमबारबाट सरकारी पक्षको बहसको पालो आएको हो ।