चैत ६ गते । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुने सम्भावना छ ।
त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, कृषिमा संलग्न हुने किसानका साथै ती भेगमा यात्रा गर्ने र यातायातका साधन सञ्चालनमा संलग्न सबैलाई महाशाखाले सावधानी अपनाएर आफ्ना नियमित गतिविधि सञ्चालन गर्न अनुरोध पनि गरेको छ । रासस
