चितवन, माघ ११ । चितवनको रत्ननगर नगरपालिकाले आज आफ्नो २९औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। स्थापना दिवसको अवसरमा नगर प्रमुख प्रलाद सापकोटाले एक शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नगरवासीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्।
नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई समेत समेटेको रत्ननगर नगरपालिका वि.सं. २०५३ साल माघ ११ गते स्थापना भएको थियो। सोही ऐतिहासिक दिनको स्मरण गर्दै नगर प्रमुख सापकोटाले नगरपालिकाले पूर्वाधार विकास र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण फड्को मारेको बताएका छन्।
चार गाविस मिलेर बनेको सुन्दर नगर शुभकामना सन्देशमा उल्लेख भएअनुसार, तत्कालीन रत्ननगर नगरउन्मुख गाविस र पञ्चकन्या गाविसलाई समेटेर २०५३ सालमा नगरपालिका घोषणा गरिएको थियो। पछि नेपाल सरकारको २०७३ को निर्णयले पिठुवा र बछ्यौली गाविसलाई समेत गाभेर हालको स्वरूप तयार भएको हो।
हाल १६ वडा र २६५ टोल रहेको यो नगरपालिका ६८.६७ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ भने यहाँको जनसङ्ख्या ८९,९०५ पुगेको छ।
विकास र समृद्धिको यात्रा नगर प्रमुख सापकोटाले “पर्यटकीय सहर, समुन्नत रत्ननगर” भन्ने मिसन र भिजनका साथ नगरपालिका अघि बढिरहेको बताएका छन्।
सन्देशमा भनिएको छ, “स्थापनाकालदेखि हालसम्मको यात्रामा विकास निर्माणका हिसाबले नगरपालिकाले व्यापक फड्को मारेको छ। नगरले हाल केही ठूला गौरवका आयोजनाहरू निर्माणको चरणमा अघि बढाइरहेको छ।”
उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक निर्माण तथा पूर्वाधार निर्माणलगायतका बहुविधामा नगरले उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेका छन्।
सहकार्य र कृतज्ञता नगर प्रमुख सापकोटाले आम नगरवासीको बलियो साथ र सम्पूर्ण उद्यमी व्यवसायीको क्रियाशील सहभागिताले आफूहरूलाई काम गर्न ऊर्जा मिलेको बताएका छन्। उनले आगामी दिनमा पनि सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण नगरवासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा २९औँ स्थापना दिवसको शुभकामना व्यक्त गरेका छन्।

