
७ माघ । साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ ।
स्पिनरद्वय सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ -४ विकेट लिएपछि पुलिसले सुदूरपश्चिमलाई ११० रनमा अलआउट गरेको थियो ।
सुनिल धमला र कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि पुलिसले १७ ओभर खेल्दै १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
धमलाले ५३ रन बनाए । भुर्तेलले नटआउट ५१ रन बनाए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३।१ ओभर खेल्दै सबै विकेट गुमाएर ११० रन मात्र बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले सर्वाधिक ४० रन बनाउँदा विकेटकिपर सन्जु दमाइले रन बनाए । यस्तै अरुण ऐरीले १३ र अर्जुन साउदले १० रन बनाए । बाँकी खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । चार खेलाडी खाता नखोली आउट भए ।
ओपनर तथा कप्तान सन्तोष भट्ट खेलको दोस्रो बलमै डायमण्ड डकआउट भएपछि खडक र सन्जुले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
तर त्यसपछि पुलिसका सागर र दीपेन्द्रले उत्कृष्ट बलिङ गरेपछि सुदूरले थप ३० रन जोड्दा ९ विकेट गुमायो । सुदूरपश्चिमले अन्तिम ७ विकेट ८ रनमा गुमाएको थियो ।
सुदूरपश्चिमलाई अलआउट गर्न पुलिसका लागि सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै १८ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै दीपेन्द्रले ६।१ ओभरमा २ मेडन राख्दै १० रन मात्र खर्चेर ४ विकेट लिए । सागरले टप अर्डर र दीपेन्द्रले लोअर अर्डरको विकेट लिए । दुई खेलाडी रनआउट भए ।