
माघ २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि माघ ३ गतेगर्ने आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् । देउवाले आज एक वक्तव्य सार्वजनिक गर्दै सरकारले असंवैधानिक रुपमा गरेको संसद् विघटनविरुद्धको आन्दोलनमा सहभागी हुने अपिल गरेका हुन् ।
“प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ,” देउवाले वक्तव्यमा भनेका छन्, “पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन् । भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।” उनले संसद् विघटनविरुद्ध कांग्रेस एक रहेको भन्दै नागरिकस्तरबाट पनि त्यसको प्रतिरोध आवश्यक रहेको बताएका छन् ।
“संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,” देउवाले वक्तव्यमा भनेका छन्, “पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु ।”