
पौष २८ । प्रदेश नम्बर–१ मा आउँदो माघ ७ गतेका लागि प्रदेशसभा बैठक डाकिएको छ । तर, नेकपामा देखिएको विवाद र राजनीतिक ध्रुवीकरणबीच सदन चल्नेभन्दा पनि झडपको खतरा देखिएको छ । सम्भावित विवाद र सदनको कारबाहीलाई सुचारु गर्न सभामुख प्रदीपकुमार भण्डारीले नेकपाका अलग–अलग समूह र विपक्षी दलसँग छलफल थालेका छन् ।
नेकपाको दाहाल–नेपाल र ओली समूहका तर्फबाट एकले अर्कोलाई कार्बाही गरिएको घोषणा भइरहेको छ । आइतबार मात्र मुख्यमन्त्री शेरधन राईसहित प्रदेश सरकारका मन्त्री र सांसद्हरुलाई निलम्बन गरिएको पत्र प्रदेशसभा सचिवालय पुगेको छ ।
मुख्यमन्त्री शेरधन राई नेता रहेको संसदीय दलले १६ जनालाई निलम्बन गरेको छ । भीम आचार्य नेता रहेको संसदीय दलले ८ जनालाई कार्बाही गरेको घोषणा गरेको छ । निलम्बन गरिएकाहरुलाई प्रदेशसभा बैठकमा प्रवेश गर्नै नदिने रणनीति अख्यितार गर्नेतर्फ नेकपाका समूह सक्रिय हुँदा प्रदेशसभा बैठकमा ‘लफडा’ हुन सक्ने खतरा बढेको हो ।
नेकपाका एक सांसद्ले भने, “एक समूहले अर्कोलाई निलम्बन गर्ने र बैठकमा सहभागी हुन रोक्नेसम्मको प्रयास हुने देखिएको छ । प्रदेश सांसदहरुबीच नै झडपको अवस्था आउने खतरा देखिन्छ ।” कार्यव्यवस्था परामर्श समितिमा समेत नेकपाको विवादले असर गर्ने देखिएको र समूहका प्रमुख सचेतकले सहभागी हुन विवाद गर्न सक्ने उनले बताए ।
सभामुख भण्डारीले आफूले सत्तासीन दल र विपक्षीसँग समेत आवश्यक परामर्श थालेको बताएका छन् । उनले भने, “संविधान, विधि र कानुनलाई आधार बनाएर मैले बैठकको सहजीकरण गर्ने हो । विवाद हुन नदिन अनि बैठकको कारबाहीलाई सहजरुपमा सञ्चालन गर्न सबैसँग परामर्श र छलफल गरिरहेको छु ।” सभामुख भण्डारीले राजनीतिक विषय दल र नेताहरुले मिलाउने तर सदनको कारबाहीलाई अनुशासित र सहमतिको आधारमा सञ्चालन गर्ने जिम्मेवारी आफ्नो भएको सुनाए ।
दलभित्र आधिकारिकताको विवादसमेत चर्किएर गएपछि संसद् सचिवालयले मंगलबार कानुन व्यवसायीसँग छलफल आयोजना गरेको छ । अहिले उत्पन्न परिस्थिति र कानुनी व्यवस्थाको विषयमा छलफल आयोजना गरिएको सचिवालयले जनाएको छ ।
सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसँग परामर्श गरिसकेका छन ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरुसँग औपचारिक र गहन छलफल नभएको बताएका छन् । उनले भने, “नेकपामा पार्टीको विवाद देखिएको छ । तर, संसद् बैठक सञ्चालनमा आउँदा समस्याहरु आउन सक्छन् । तर, एकले अर्कोलाई नै निषेध र रोक्ने भन्ने हुँदैन ।” कार्कीले सदनको कारबाहीमा दलबीचको विवादले समस्या भने आउन नहुने तर्क गरे । प्रदेशसभाको बैठक माघ ७ गते दिउँसो २ बजेको लागि बोलाइएको छ ।
दाहाल–नेपाल समूहका नेकपा संसदीय दलका नेता भीम आचार्य काठमाडौं गएका छन् । उनीसँग भने छलफल हुन बाँकी रहेको बताइएको छ । प्रदेश–१ मा ९३ जना सांसद् छन् । नेकपासँग दुईतिहाइ पुग्ने ६७ सांसद् छन् । नेपाली कांग्रेसका २१, जनता समाजवादीका ३, राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकरएकजना सांसद् छन् ।