
पौष १७ । सम्पूर्ण अनलाइन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ ।
बिजनेस ग्रोथ कम्पनीले सञ्चालनमा ल्याएको बहुउपयोगी सुपर एप नामको उक्त एपमा राइड सेयरिङदेखि अनलाइन सपिङसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ ।
हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनीले केही समयपछि सबै सुविधा थपिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले बिनाइन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ ।
काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य सहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।
पछिल्लो समय युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहीहरुले सस्तो, विश्वसनीय सेवा पाउनेछन् भने समयको बचत हुने कम्पनीको दाबी छ । कम्पनीमा दक्ष, अनुभवी सातजना व्यवस्थापक र प्राविधिक कार्यरत् रहेका छन् ।
हाल सुपर एपकोे प्रयोगकर्ता १५ हजारभन्दा बढी छन् भने पाँच हजारभन्दा बढी सवारी पार्टनर छन् ।
सुपर एप डाउनलोड गरी मोबाइल नम्बरसहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनोट गरी राइडरले आफूलाई रजिस्टर गराउन सक्नेछन् ।
ग्राहकले पनि सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडरले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
कम्पनीले प्रतिस्पर्धी राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिने बताएको छ ।