Nepali Unicode | Preeti to Unicode

१४ पुस । बुद्ध एयरले दुर्गम भेगमा हवाई सेवा विस्तार गर्ने भएको छ । यसका लागि बुद्ध एयरको शतप्रतिशत लगानी रहने गरी भगिनी कम्पनी खोल्ने तयारी गरिएको हो ।
नयाँ कम्पनीको नाम ‘यशोधरा एयर’ राखिने निर्णय भएको कम्पनीका प्रवन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार कम्पनीले आगामी एक वर्षभित्र नयाँ कम्पनीका लागि जहाज ल्याउनेसहितका आवश्यक तयारी सम्पन्न गरि उडान सुरु गरिने भएको छ ।
त्यसपछि बुद्ध एयरको सेवा दुर्गमका गन्तब्यमा विस्तार हुने भएको हो । ‘हामी प्राकृतिक वृद्धिदरका आधारमा अगाडि बढिरहेका छौं,’ उनले भने ‘अब स्वभाविक रुपमा दूर्गममा सेवा विस्तार गर्नुपर्ने बेला आएको छ ।’
यशोधरा एयरका लागि एक वर्षभित्र तयारी पुरा गरी सन् २०२२ बाट सेवा थालिने उनले जानकारी दिए । यशोधरा भगवान गौतम बुद्धकी जीवनसंगिनी हुन् ।
बुद्धको भगिनी कम्पनीलाई यो भन्दा उपयुक्त नाम अर्को नहुने भएकाले यशोधरा नै राख्ने निर्णय गरिएको उनले जानकारी दिए ।
बुद्ध एयरले आन्तरिक उडानमा प्रारम्भमै चार वटा जहाज भित्राउने भएको छ । यसका लागि ट्वीनअटर वा अन्य कुन विमान ल्याउने भन्नेबारे अन्तिम निर्णय हुन बाँकी रहेको बस्नेतले जानकारी दिए ।
आगामी ६ महिनाभित्र जहाजबारे टुंगो लगाउने र त्यसपछि कम्पनी स्थापनाका बाँकी काम पुरा गर्ने गरी तयारी थालिएको उनले जानकारी दिए । बुद्धले नयाँ कम्पनी यशोधराको आधार विमानस्थल भने उपत्यका बाहिर बनाउने भएको छ । आधार विमानस्थल दुई वटा हुने भएका छन् ।
अहिले बुद्ध एयरले कुल १३ वटा जहाजबाट सुगम भेगमा मात्र उडान सेवा दिइरहेको छ । बुद्धसँग अहिले दुई बीचक्राफ्ट, ३ वटा एटीआर ४२ र ८ वटा एटीआर ७२ जहाज रहेका छन् ।
प्रवन्ध निर्देशक बस्नेतका अनुसार पूर्वी भेगमा सेवा दिन रामेछापको मन्थली र पश्चिम भेगमा पोखरालाई आधार बनाएर उडान गरिने भएको छ ।
‘चार जहाजमध्ये दुई वटा रामेछाप र दुई वटा पोखरामा राखेर उडान गर्नेछौं,’ उनले भने । पोखराबाट जोमसोम, रारा, सिमकोटलगायत विमानस्थलसम्म उडान गरिने भएको छ । रामेछापको मन्थली विमानस्थलबाट भने लुक्ला र ताप्लेजुङको सुकेटार विमानस्थललाई लक्षित गरी उडान बिस्तार गर्ने लक्ष्य रहेको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय