Nepali Unicode | Preeti to Unicode

काठमाडौं, पुस ४ । ‘‘काम गर्ने दाहिने हातमा स्टिलको पातो हालेदेखि मैले खेतीकिसानी मात्र होइन गृहस्थ जीवन नै त्यागेँ । अन्य व्यक्ति किन जोगी हुन्छन्, त्यत्ति थाहा भएन तर म चाहिँ खेती गरेर खाने हातका लागि धेरै खर्च र दैनिकी धान्न नसकेर बिरक्तिएँ ।’’

माइतीघरमा धर्ना दिइरहेका उखु खेतीले बिचल्लीमा परेका किसान आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका सर्लाही, सिसौटिया–११ का रामानन्द यादवको अनुभूति हो यो । उनी ठिही नधान्ने गेरु वस्त्र, मागी खाने भाँडा र लौरोसहित किसानको त्यो आन्दोलनमा हरेक दिन सहभागी रहेका छन्।

गुलियो रस आउने नगदे बाली भनिने उखु रोपेर नुनिलो आँसु रोइरहेका किसानबीच एकजना गेरु वस्त्रमा सहभागी भेटिएपछि उनका बारेमा जान्ने उत्सुकता जाग्यो । संसारप्रतिको मोह त्यागेर घुमी हिँड्ने जोगीको प्रवृत्तिभन्दा फरक यादव किसान आन्दोलनमा देखेर उनीसँग जिज्ञासा जिज्ञासा राख्दा उनले आफू जोगी हुनुपरेको कारण खोले।

त्यसपछि उनले उखु खेतीका कारण आफू जोगी हुनुपरेको विवरण सुनाउन थाले । गत वर्ष माइतीघरमै धेरै दिन चलेको उखु किसानको आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा घाइते भए ।

उखुको ३३ हजार रुपियाँ बक्यौता लिन सर्लाहीदेखि राजधानीको माइतीघरसम्म सास्ती बेहोरेर सरकार र चिनी मिल साहूको आश्वासन लिएर घर जाँदा बाटामै दुर्घनामा परेपछि घरको सट्टा वीर अस्पतालको ट्रमा सेन्टर फर्किनुप¥यो ।

डाक्टरले उनको दाहिने पाखुरामा स्टिलको पाता राखेर उपचार गर्दाको खर्च साढे दुई लाख रुपियाँ लाग्यो । नाजुक आर्थिक अवस्थाका कारण उखुको पैसा पाउन आन्दोलनका लागि घरबाट निस्कन पनि चर्को ब्याजमा ऋण लिनुप¥यो ।

चिनी मिलका साहूले २०७१ सालदेखिकै पैसा नदिएर दुःख दिएको छ । हातको उपचार गर्न घरको सारा सामान बिक्री गर्नुपरेको उनको भनाई छ ।
‘‘स्टिल राखेको हातले काम गर्न सक्दिनँ, झिक्नका लागि पैसा छैन । मेरो विवाह पनि भएको छैन । उखु खेतीले मलाई जोगी बनायो’’, यादवको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर