Nepali Unicode | Preeti to Unicode

काठमाडौँ, मङ्सिर १५ गते । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नै नलिई कतारका प्रहरी र सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिएका तीन वैदेशिक रोजगार व्यवसायी कम्पनीको छ महिनासम्म सबै कामकारबाही रोक्का गरेको छ ।
विभागले पूर्वश्रम स्वीकृति नै नलिई कतार प्रहरीमा श्रमिक पठाउन भन्दै अन्तर्वार्ता लिइरहेका एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स सर्भिस, होप इन्टरनेसनल म्यानपावरको वैदेशिक सबै कारोबार रोक्का गरेको हो ।
विभागले वैदेशिक रोजगार ऐनको दफा ६१ अनुसार पूर्वश्रम स्वीकृति नलिई अन्तर्वार्ता गरेका ती कम्पनीको कामकारबाही छ महिनासम्म रोक्न पाइने व्यवस्थाबमोजिम रोकेको जनाएको छ । विभागका महानिर्देशक कुमार दाहालले तत्काललाई सोही ऐनअनुसार विभागबाट हुने सबै कामकारबाही छ महिनासम्म रोक्ने निर्णय गरेको जानकारी दिनुभयो ।
हाल अनुसन्धानकै क्रममा रहेकाले ऐनमा भएको व्यवस्था भएअनुसार कानुनी र आर्थिक जरिवाना थप गर्दै जान सकिने उहाँको भनाइ छ । दाहालले वैदेशिक रोजगारीमा श्रमिक पठाउने नाममा केही म्यानपावरले राज्यको नीति विपरीतका गतिविधि गरेर राज्यलाई नै चुनौती आएकाले यसको विरुद्धमा कडा कदम चल्नुपर्ने अवस्था आएको बताउनुभयो ।
विभागमा आएको सूचनाका आधारमा विभागको टोलीले गत सोमबार र मङ्गलबार ती कम्पनीको आकस्मिक अनुगमन गरेको थियो । सो क्रममा पूर्वश्रम स्वीकृति नै नलिई कतार प्रहरीमा श्रमिक पठाउन भन्दै सयौँको सङ्ख्यामा युवाको भीड लगाएर अन्तर्वार्ता लिइरहेको अवस्थामा भेटेको थियो । अन्तर्वार्ता स्थलमा चार जना कतारी नागरिक र नेपालस्थित कतार दूतावासको सवारी साधनसमेत फेला परेको यो प्रक्रियामा कतारको समेत संलग्नता रहेको आशङ्का गरिएको छ । त्यसो त बुधबार कतार दूतावासले गाडी दिएको भए पनि यो प्रक्रियामा दूतावासको संलग्नता नरहेको बारेमा सूचनामार्फत स्पष्ट पारेको छ ।
कतारमा नेपाली श्रमिक पठाउन कतारी भिसा सेन्टरमार्फत १७ वटा म्यानपावर छनोटमा परेका थिए । छनोटमा पर्ने कम्पनीको नाम क्रमशः एसओएस म्यानपावर, होप इन्टरनेसनल, अल थाक्वेत ओभरसिज, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, कैलाश इन्टरनेसनल म्यानपावर, अल रायन इन्टरप्राइजेज, न्यु पाथिभरा प्लेसमेन्ट सर्भिसेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउन्डलिनेस रिक्रुटमेन्ट, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि रहेका छन् । यी कम्पनी मात्रै कतारमा श्रमिक पठाउने गरी सिन्डिकेटका लागि छनोट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर