
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले देउखुरीको अमिलियाबाट ३२५ ग्राम ब्राउन सुगरसहित नेपालगन्ज उपमहानगरपालिका ११, भट्टी टोलका ३५ वर्षीय महिन अन्सारीलाई पक्राउ गरेको हो ।
उनलाई देउखुरीको लमही नगरपालिका ९, अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।
‘‘अमिलियामा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो,’’ उनले भने, ‘‘उक्त टोलीले जिल्लामा अहिलेसम्मकै ठूलो परिमाणसहित नेपालगन्जका महिन अन्सारीलाई पक्राउ गरेको हो ।’’ पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।