
काठमाडाैं, २ असाेज । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् ।
साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरूले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए ।
विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरूका लागि समस्या उत्पन्न भएको उनले बताए ।
‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण गर्नुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’’
मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले बताए । विगतमा किसानहरूले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफैं ल्याउने गरेपनि यो वर्ष लकडाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाइ छ ।