Nepali Unicode | Preeti to Unicode

काठमाडौं, असोज २ । कोरोना भाइरसको कारण करिब ६ महिना यातायात क्षेत्र ठप्प रह्यो। यस क्षेत्रका मजदुरको रोजगारी गुम्यो। तर मजदुरको रोजीरोटी खोसेको लकडाउनले काठमाडौंको गोंगबु बसपार्कमा भने केही सकारात्मक नतिजा ल्याएको छ।

बसपार्कको व्यवस्थापन गर्ने कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रालिले लकडाउनकै अवधिमा लामो दुरीका बस टिकेटिङलाई कम्प्युटर प्रणालीबाट सुरु गरेको छ। कम्पनीले लामो समयदेखि कम्प्युटर प्रणालीबाट टिकट व्यवस्थापन गर्न खोजे पनि सकिरहेको थिएन।

करिव ६ महिनापछि लामो दुरीका सवारी साधन चल्न थालेसँगै कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ सुरु गरेको छ। सरकारले असोज १ गतेदेखि लामो र छोटो रुटका सवारी साधन खोल्ने निर्णय गरेसँगै बिहीबारदेखि बसपार्कको काउन्टर खुलेका हुन्।

ल्होत्सेका अध्यक्ष दीपक कुँवरले कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ सुरु गरेको बताए। ‘हामीले धेरै पहिलादेखि नै कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ सुरु गर्न खोजेका थियौं। अहिले आएर सफल भएका छौं,’ उनले भने, ‘कोरोना महामारीबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने भएको कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ प्रभावकारी हुने अपेक्षा राखेका छौं।’

अध्यक्ष कुँवरले अहिले कम्प्युटर प्रणालीबाट सुरु गरे पनि आगामी दिनमा अनलाइन तथा एप्समार्फत टिकट बुकिङको व्यवस्था मिलाउने तयारी गरिरहेको बताए।

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले कम्प्युटर प्रणालीमा टिकट काट्ने व्यवस्था मिलाएसँगैै बसपार्कमा बिचौलिया प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरे। ‘बिचौलियाले जहाँ मन लाग्यो, त्यहीँ टिकट काट्ने, जुनसुकै ठाउँबाट यात्रु चढाउने गर्दा धेरै समस्या देखियो,’ उनले भने, ‘हामीले यातायात व्यवसायीसँग समन्वय गरेर बसपार्कलाई बिचौलियामुक्त बनाउन खोजेका छौं।’

महाप्रबन्धक कुँवरले दसैंपछि अनलाइन टिकेटिङ सुरु गर्ने बताए। ‘आजबाटै ७५ प्रतिशतभन्दा धेरै कम्पनीका टिकट काउन्टर खुलिसके,’ उनले भने, ‘काठमाडौंबाट करिब १४ वटा गाडीमात्रै बाहिरिएका छन्।’ उनले स्वास्थ्य सतर्कता तथा आवश्यक सावधानी अपनाएर मात्रै टिकट काउन्टर खोलेको बताए। अहिले बसपार्कमा एक सयभन्दा धेरै कम्पनीका टिकट काउन्टर छन्।

विभिन्न यातायात कम्पनीले कप्युटर प्रणालीबाट टिकट बुकिङ सुरु गर्न थालेका नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर