काठमाडौँ- नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने नयाँ व्यवस्था गरेको छ।
यसअघिको काँग्रेस निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार हुन नपाउने नियम थियो।
निर्देशिकाको नयाँ व्यवस्था दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा लागु हुने नेपाली काँग्रेसले जनाएको छ ।
काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले महाधिवेशन प्रतिनिधि हारे पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवार हुन पाउने नयाँ व्यवस्थासहित पत्राचार गर्नुभएको छ ।
दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि जितेका व्यक्ति मात्रै जिल्ला सभापति पदको उम्मेदवार हुन पाउँछन्। तर महाधिवेशन प्रतिनिधि हारेका व्यक्ति सभापतिबाहेक पदमा उठ्न पाइने नयाँ व्यवस्था काँग्रेसले गरेको हो ।।
