
हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आएका छन्। खुम्बु क्षेत्रको लोबुचे तथा ८ हजार मिटर माथिको मनास्लु हिमाल आरोहण गर्ने राजकुमार खलीफा बुधबार काठमाडौं आएका हुन् । टोलीमा उनी सहित १८ जनाको रहेका छन् ।
टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । टोलीमा बहराइन रोयल गार्ड (डिभेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ । राजदूत सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत् सम्बन्धमा आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
कोरोना भाइरसका कारण हिमाल आरोहण हुन सकेको थिएन तर सरकारले शरद् ऋतुको हिमाल आरोहण खुला गरेको छ । अहिले एक नेपाली आरोही टोलीले खुम्बु क्षेत्रमा पर्ने सात हजार १२९ मिटर उचाइको बरुन्से हिमाल आरोहणका लागि अनुमति लिएको विभागले जनाएको छ । विभागका निर्देशक आचार्यले अहिलेसम्म एक मात्र टोलीले हिमाल आरोहण अनुमति लिएको छ । बहराइनका राजकुमारसहितको आरोहण टोलीले अनुमति लिँदा दोस्रो टोली हुनेछ ।
आरोही टोलीलाई सेभेन समिट ट्रेक्सले आरोहण व्यवस्थापन गरेको छ। राजकुमार आरोहणमा सहयोगी गाइडमा २४ पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी कामीरिता शेर्पा लगायतका प्रख्यात शेर्पा गाइडहरु हुने कम्पनीले जनाएको छ।