सबडिभिजन वन कार्यालय मधुवनका प्रमुख एवम सहायक वन अधिकृत सुखदेवप्रसाद यादवले अहिले मधुवन वन क्षेत्रमा काठ तस्करहरू सक्रिय भएको बताएका छन्। भदौ अन्तिम सातासम्ममा बारामा १०५९ क्यूफिट काठ, गोलिया बरामद भएको र सो अवधिमा २२ जनामाथि मुद्दा दायर गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिए ।
सबडिभिजन वन कार्यालय मधुवन अन्तर्गत जैतापुर, बोधवनलगायत वन क्षेत्रमा काठ चोरी तस्करीका घटनामा वृद्धि भएको हो। जैतापुर, रामनगर, चौध किलोमिटर आसपासका वन क्षेत्रबाट तस्करहरूले एक दर्जनभन्दा बढी हरियो सालका रूख छानीछानी काटेर गोलिया बनाइ तस्करी गरिरहेका छन्।
लकडाउन र निषेधाज्ञा अवधिमा काठ तस्करी बढेको जैतापुर वन रेन्जपोस्टका इन्चार्ज एवम् फरेस्टर जयप्रकाश साहले बताएका छन । उनले थोरै जनशक्ति र धेरै काठ तस्कर भएकाले वन संरक्षणमा कठिनाइ भएको बताए । केही दिनअघि काठ तस्करहरूले ककरी वन रेन्जपोस्टका इन्चार्ज अब्दुल करीम मियाँमाथि कार्यालय परिसरमा हातपात गरेका थिए। त्यस्तै सबडिभिजन वन कार्यालय मधुवनको गस्ती टोलीलाई ३०र३५ जना काठ तस्करले लखेट्दै आक्रमण गरेको घटना पनि सार्वजनिक भएको थियो।