सरकारले एमालेको विरोध हुँदाहुँदै पनि प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । प्रतिस्थापन विधेयक बहुमतले पारित भएसँगै नेपालले बेहोरेको दुई दिनेको सटडाउन केही दिनभित्रै टुङ्गिने भएको हो ।
तर प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक पारित भए पनि सरकारले बजेट खर्च गर्न पाउने बाटो खुलिसकेको भने छैन । पारित भएको यो विधेयकलाई अब राष्ट्रियसभाले पनि पारित गर्नुपर्छ । राष्ट्रियसभाले विधेयक पारित गरेर फेरि प्रतिनिधिसभामा पठाउनेछ ।
राष्ट्रियसभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाका सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुपर्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै सरकारले ढुकुटी अर्थात् सङ्घीय सञ्चित कोषबाट रकम झिकेर खर्च गर्न पाउनेछ ।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको थियो । वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको हो ।
