युरोपका विभिन्न ११ सहरमा जारी युरो कप २०२० फुटबल प्रतियोगितामा फ्रान्सले सुखद सुरुआत गरेको छ । मङ्गलबार राति भएको खेलमा फ्रान्सले जर्मनीमाथि १-० गोलको जित निकाल्दै युरोप कपमा सुखद सुरुआत गरेको हो ।
जर्मनीस्थित एलियन्ज स्टेडियममा भएको खेलमा फ्रान्सले आत्मघाती गोलको सहायताले जित निकालेका हो । खेलको २०औँ मिनेटमा जर्मनीका म्याट्स हुमेल्सले आफ्नै पोस्टमा गोल गरेका थिए ।
फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

सोही गोलको माध्यमबाट विश्वकप विजेता फ्रान्सले जर्मनीमाथि १–० गोलको जित निकालेको हो । खेलमा घरेलु दर्शकबीच जर्मनीले राम्रो प्रदर्शन गरे पनि गोल गर्न सकेन ।
जितसँगै समूह ‘एफ’मा रहेको फ्रान्सले तीन अङ्क जोडेको छ । फ्रान्सले दोस्रो स्थान पक्का गरेकाे छ । जर्मनीले भने हारबाट युरो कप २०२० काे थालनी गरेको छ ।
उक्त समूहको शीर्ष स्थानमा भने पोर्चुगल रहेको छ । उसले मङ्गलबार राति नै भएको अर्को खेलमा हङ्गेरीमाथि ३-० गोलको जित निकालेकाे थियो ।
