युरोपका विभिन्न ११ सहरमा जारी युइएफए युरो कप २०२० फुटबल प्रतियोगितामा साविक विजेता पोर्चुगल शानदार जित निकालेकाे छ । मङ्गलबार राति पोर्चुगलले हङ्गेरीमाथि ३-० गोलान्तरको जित निकालेको हो ।
हङ्गेरीको फेरेन्स पुस्कास स्टेडियममा पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गर्दा राफेल गुर्रेइरोले एक गोल गरे । पोर्चुगलले अन्तिम दस मिनेटभित्र तीन गोल गर्दै हङ्गेरीमाथि जित दर्ता गरेको हो ।
खेलको ८४औँ मिनेटमा गुर्रेइरोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ८७औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । खेलको इन्ज्युरी समयमा रोनाल्डोले दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० गोलको जित दिलाए ।
यस जितसँगै पोर्चुगलले सुखद सुरुआत गरेको छ । समूह ‘एफ’को शीर्ष स्थानमा रहेको पोर्चुगलले तीन अङ्क जोडेको छ । हङ्गेरी भने पुछारमा छ ।
‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’मा विश्वकप विजेता फ्रान्स र जर्मनीसमेत छन् । जर्मनी र फ्रान्सले आजै अर्को खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
रोनाल्डोका दुई नयाँ रेकर्ड
पोर्चुगलका कप्तान रोनाल्डो सर्वाधिक धेरै पटक युरो कप खेल्ने खेलाडी बनेका छन् । युरो कप २०२० मा सहभागिता जनाएसँगै ३६ वर्षीय रोनाल्डो पाँच संस्करणको युरो कपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् ।
रोनाल्डोले सन् २००४ यता पाँच संस्करणको युरो कपमा सहभागिता जनाएका हुन् । उनले २००४ को संस्करणमा दुई गोल गरेका थिए भने २००८ मा एक गोल गरेका थिए । यस्तै २०१२ मा तीन गोल गरेका उनले २०१६ मा पनि तीन गोल गरेका थिए । सो संस्करणको उपाधि पोर्चुगलले जितेको थियो ।

यस्तै, रोनाल्डो युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले हङ्गेरीविरुद्ध दुई गोल गर्दै युरो कपमा ११ गोल गरेका छन् । फ्रेन्च मिचेल प्लाटिनीको नाममा ९ गोल छ ।
यस्तै अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०६ गोलसहित दोस्रो स्थानमा छन् र इरानका अली दाईको कीर्तिमानभन्दा उनी तीन गोलले मात्र पछि छन् ।
