आमाले दिएको आर्शीवाद आफ्ना सन्तानका लागि सधैँ मार्गदर्शन बन्छ । आमाकै आत्मीयता र मार्गदर्शनलाई आत्मासात गरेर मानिसहरु अघि बढ्नुपर्छ भन्ने मान्यता छ । आमा नभएकाहरुले भने आमाको श्राद्ध गरी दिवङ्गत आमा र आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ । त्यही भएर आमालाई संसारमा सबैले ठूलो मान्छन् । शास्त्रमा आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधानलाई नेपालीहरुले अङ्गिकार गर्ने गरेका छन् । औँसीका दिन दिवङ्गत आमाको सम्झनामा मुलुकका विभिन्न स्थानमा मेला लाग्ने गरेको छ ।
आमाको सम्झनामा तीर्थयात्रा गर्ने चलन पनि छ । आजको दिन आफ्नी आमालाई तीर्थयात्रा गराउँदा र सधैँ आमाप्रति सम्मान व्यक्त गर्दा जीवनमा दुःख र कष्टबाट मुक्ति मिल्ने जनविश्वास छ । आमा नहुने नरनारीले बिहानै तीर्थमा गएर स्नान गर्ने र भगवान विष्णु तथा शिवको दर्शन एवं पूजापाठ गर्ने गर्छन् । औँसीलाई पितृको तिथि मानिन्छ । त्यसै अनुसार वैशाख कृष्ण औँशीलाई आमाको मुख हेर्ने र भदौ कृष्ण औँसीलाई बाबुको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ ।
शास्त्रअनुसार धेरै वर्ष पहिले एक ठाउँमा गाईवस्तु चराउने चउर थियो । एक दिन एउटा गोठालाले चउरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।
कथानुसार पहिलो पटक रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो भन्ने शास्त्रमा उल्लेख छ। यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थालेको र मातातीर्थ मेला लाग्न थालेको सुन्न सकिन्छ ।
त्यसैले विभिन्न धर्मशास्त्रमा आमालाई पहिला सम्झिइएको छ । ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’ आमाको महत्वलाई जनाउने संस्कृतको एउटा श्लोक ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ निकै प्रचलित छ ।
आमाको मुख हेरेर हर्षोल्लाससाथ मनाइने पर्वलाई भने कोरोना भाइरस सङ्क्रमणले निक्कै असर गरेको छ । कोरोनाको कठिन परिस्थितिसँग मुलुकले सङ्घर्ष गर्नु परिरहँदा प्रायलाई यो दिन निक्कै खल्लो महसुस भएको छ । कतिपयलाई आमासँग भेट गर्न जानलाई पनि कोरोना बाधक बनिदियो ।
विशेष परिस्थितिका कारण आमासँग भेट गर्न नपाएकाहरुले प्रविधिको प्रयोग गर्दै फोनमार्फत गफगाफ गरेर खुशीयाली साटासाट गरेका छन् । टाढा रहेकाहरुले इन्टरनेटमार्फत सामाजिक सञ्जालको प्रयोग गरेर पनि आमाको मुख हेरेका छन् । सरकारले एकआपसमा भेटघाटभन्दा पनि प्राविधिको प्रयोग गरेर पर्वहरु मनाउन सबैमा अनुरोध गरेको छ । जीवन रहेमा आगामी वर्ष पनि पर्वहरु आउने र हर्षोल्लाससाथ मनाउन पाइने भएकाले यस वर्ष सबैले सावधानी अपनाउनु नै राम्रो हुने सुझाव विज्ञहरुको छ ।
