Nepali Unicode | Preeti to Unicode

काठमाडौं, भदौ ३० । मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय आफ्नो दायित्वबाट विचलित हुँदै गएको भन्दै आलोचना भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश हुनुभन्दा केही समयअघि नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितता फाइल तामेलीमा राखेपछि चौतर्फी विरोध भएको थियो।

घिमिरेको नेतृत्वमा अन्य ठूला भ्रष्टाचारका मुद्दा नचलाई उन्मुक्ति दिएको आरोप छ। घिमिरे आइतबार बिदा भएका हुन्।

अख्तियार नेतृत्वले राजनीतिक र शक्ति दलाल समूहको प्रभावमा परेर संविधानले दिएको जिम्मेवारीबाट विचलित भई मुलुक र संविधानप्रति धोका दिएको पूर्वन्यायाधीशहरूले टिप्पणी गरेका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अख्तियारको नेतृत्वले मुलुक, संविधान र जनताप्रति धोका दिएको टिप्पणी गरे।

संविधानलाई धोका दिनेलाई कानुनले मिल्छ भने मुद्दा चलाउनुपर्ने केसीको तर्क छ। ‘आफूले लिएको शपथ र संविधानलाई बेइमानी गर्ने काम अख्तियार नेतृत्वबाट भएको छ,’ पूर्वन्यायाधीश केसीले नागरिकसँग भने, ‘कानुनले कतै दिन्छ भने उहाँ ९घिमिरे० माथि मुद्दा चलाउनुपर्छ।’ अख्तियारको नेतृत्वले आफू अवकाश हुने बेला मुद्दा नचलाई तामेलीमा राख्ने प्रवृत्ति गलत भएको उनले बताए।

‘अख्तियारका पदाधिकारीले संविधानले दिएको जिम्मेवारी पूरा गर्न चुक्नुभयो,’ उनले भने, ‘जाने बेलामा भ्रष्टाचारका मुद्दा खासखुस गरेर टुंग्याउन मिल्दैन।’ राज्यले संवैधानिक निकायका पदाधिकारीलाई दिएको सम्मानप्रति धोका भएको उनले टिप्पणी गरे। संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्ति आयोगमा जान नहुने उनको भनाइ रहेको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर