कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइट्स (बौद्धिक सम्पत्ति) सम्बन्धी अवरोध हटाउन अमेरिका सहमत भएको छ ।
महामारी नियन्त्रणका लागि खोपको धेरै उत्पादन गर्नुपर्ने आवाज विभिन्न मुलुकले उठाएपछि त्यसमा अमेरिका सहमत भएको हो । अमेरिकाले आफू पेटेन्ट राइट्स अवरोध हटाउनुपर्ने पक्षमा रहेको उल्लेख गरेको छ ।
अहिले विश्व व्यापार सङ्गठन (डब्लुटीओ)ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पत्तिसम्बन्धी प्रावधानमा छुट दिनुपर्ने अभियान चलाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा आफ्नो सहमति रहेको जनाएका छन् ।
बाइडेनको सहमतिसँगै अब विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । करिब एक महिनाअघि विश्व व्यापार सङ्गठनको बैठकमा यो विषय उठेको भए पनि धनी राष्ट्रले कम महत्त्व दिएका थिए।
बैठकमा सहभागी मुलुकहरुले खोपको व्यापक उत्पादन कोभिड–१९ नियन्त्रणको व्यावहारिक उपाय हुने र यसका लागि खोप उत्पादनलाई सहजीकरणमा सहयोग गर्नुपर्ने बताएका थिए । अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायको’ माग हुने बताएकी छन् ।
भारत र दक्षिण अफ्रिकाले गएको छ महिनादेखि खोप उत्पादनको अधिकार ‘पेटेन्ट राइट’लाई सहज पार्दै सबैलाई उत्पादन अधिकार दिनुपर्ने माग गरिरहेका छन् । उनीहरूले विश्व व्यापार सङ्गठनभित्र झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् । डोनाल्ड ट्रम्पको शासन कालमा अमेरिकाले त्यसको विरोध गरेको थियो । बेलायत र युरोपेली सङ्घ पनि विरोधमा थिए।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पको भन्दा फरक नीति लिएर चुनावी अभियानकै क्रममा कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइट्समा छुट दिनुपर्ने डिमोक्र्याटिक नेता बर्नी स्यान्डर्स र उदारवादी अमेरिकी नेताको आवाजलाई समर्थन गरेका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रमुखले यसलाई कोरोना भाइरसविरुद्धको युद्धमा स्मरणीय क्षण भनेका छन् ।
खोपको पेटेन्ट अधिकारमा छुट दिँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र यसले गरिब देशमा खोप सस्तोमा उपलब्ध गराउन सकिने छ। यसले विश्वभर महामारीको रूप लिएको कोरोना नियन्त्रणमा सहज हुने अपेक्षा गरिएको छ ।
