Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले सार्वजनिक कार्यक्रममा रघुजी पन्तले गरेको टिप्पणी ‘घृणाका लागि पनि लायक’ नरहेको प्रतिक्रिया दिएकी छन् ।

नेकपाको दाहाल-नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्य रघुजी पन्तले वली क्षमताले नभइ पोइल जान पाम् भन्दै सारी सर्क्याएर पिडुँला देखाएकै भरमा राष्ट्रियसभा सदस्य बनेको टिप्पणी गरेका थिए । पन्तको अभिव्यक्ति ‘स्त्रीद्वेषी’ रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

दाङमा रहेकी वलीले पन्तको अभिव्यक्तिले राजनीतिमा आबद्ध र विभिन्न पद, प्रतिष्ठामा पुगेका महिलाहरूको आत्मसम्मानमा चोट पुगेको र यसले आफूलाई मर्माहत बनाएको बताएकी छन् ।

“म अहिले दाङमा छु । राजनीतिक गतिविधिमै सक्रिय छु । मैले सामाजिक सञ्जालमार्फत उहाँका अभिव्यक्ति सुने । म आश्चर्यमा परेँ । उहाँका अभिव्यक्तिले उहाँ कुन मनोदशा हुनुहुँदो रहेछ भन्ने छर्लंग बनाएको छ,” उनले बाह्रखरीसँग भनिन् ।

उनले आफूलाई कसैले टपक्क टिपेर राष्ट्रियसभा सदस्य नबनाएको पनि बताइन् । “मलाई उहाँले भनेजस्तो सम्माननीय प्रधानमन्त्री केपी ओलीले एकल निर्णय गरेर राष्ट्रियसभा सदस्य बनाएको होइन । मेरो आदरणीय अध्यक्ष भएका हिसाबले उहाँको सदासयता थियो होला । तर म प्रक्रियाबाटै आएको हुँ,” उनले भनिन् ।

वलीले दाङ जिल्ला कमिटीको सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि र माथिल्ला कमिटीहरूले पनि निर्णय गरेपछि अन्तिममा स्थायी कमिटीले राष्ट्रियसभा सदस्य उमेदवार बनाएको उनको जिरह थियो ।

“तलबाट आएका सिफारिसलाई स्थायी कमिटीले अनुमोदन गरेको हो । अहिले त सजिलो छ । प्रतिनिधिसभा निर्वाचन हारेका वामदेव गौतम पनि राष्ट्रियसभामा मनोनीत हुनुभयो । नारायणकाजी श्रेष्ठ उमेदवार बन्नुभयो । त्यो सचिवालयको निर्णयको आधारमा थियो,” उनले भनिन्, “त्यतिबेला त तहगत कमिटीले सिफारिस गर्नुपर्थ्यो । स्थायी कमिटीले निर्णय गर्ने बेलामा उहाँले किन विरोध जनाउनु भएन । मौन बस्नुभयो ।”

उनले कार्यक्रममा टिप्पणी गरिएजसरी केन्द्रीय सदस्य पनि नबनेको र पार्टीमा योगदान गरेको बताइन् । “म पहिले प्रदेश कमिटी सदस्य बनेको हुँ । तत्पश्चात् मैले संगठन निर्माण, परिचालनमा आफूलाई लगाएँ । तत्काली जिल्ला, प्रदेशले राष्ट्रियसभामा आवश्यकता महसुस गरेको हो । फेरि राष्ट्रियसभाको चरित्र पनि यस्तै छ । यहाँ विभिन्न क्षेत्रमा रहेका, विशिष्टिकृत नागरिकहरू खोज्छ ।”

कपाल फुलेका, अनुहार चाउरी परेका मानिसहरूले पनि जिम्मेवारी नपाएको भन्ने पन्तको अभिव्यक्तिप्रति पनि उनले प्रतिप्रश्न गरिन् । उनीहरू पदमा नपुग्नुका पछाडि पन्तहरू नै जिम्मेवार रहेको उनको भनाइ थियो ।

“त्यसो भए उहाँहरूलाई पछाडि पारेर किन आफू अघि बढ्नुभयो ?” उनको प्रश्न थियो । वलीले पन्तको अभिव्यक्तिविरुद्ध कानुनी लडाइँ लड्ने बताइन् । “आजभोलि दाङमै छु । दाङमा सोमबार कार्यक्रम पनि छ,” उनले भनिन्, “आजै मैले दाङमा केही कानुन व्यवसायीसँग परामर्श, छलफल पनि गर्दै छु । मैले महिलाहरूलाई अत्यन्त अपमान गर्नेगरी उहाँले दिनुभएको अभिव्यक्तिविरुद्ध प्रहरी प्रशासनकहाँ जाने र कानुनी लड्ने नै मानसिकता बनाएको छु । काठमाडौं आएपछि पार्टीका नेताहरूसँग थप कुराकानी गर्नेछु ।”

पन्तले पनि यसबारे प्रस्टीकरण दिएका छन् । वलीलाई पर्न गएको चोटप्रति दुःख व्यक्त गरेका छन् ।

उनको प्रस्टीकरण उनकै शब्दमा 
मैले बोलेको पूरै भिडियो राखिएको छैन । मैले बोलेको के थियो भने, नेकपाभित्र एउटा पोइला जान पाम्‌भन्ने गीतजस्तो संस्कृति छ । अर्को, उठ, जाग हे भोका नाङ्गा हो.. भन्ने गीत गाउने संस्कृति छ । हामीसँग थुप्रै महिला हुनुहुन्छ । 

कोमल वली अहिले केन्द्रीय कमिटी सदस्यमा आउनुभयो । उहाँ केन्द्रीय कमिटीमा आउँदा पार्टीमा विचार दिन सक्नुपर्छ । नीति दिन सक्नुपर्छ । कार्यक्रमहरूमार्फत् आफ्ना दृष्टिकोणहरू दिन सक्नुपर्छ । केन्द्रीय कमिटीमा लैजाने, जिम्मेवारी दिने कस्तालाई ? प्रतिस्पर्धा गरेका मानिसहरू दिने होला । केन्द्रीय कमिटीमा भएका मानिसहरूको योग्यता, क्षमता के–के हो ? केपी ओलीलाई यस्ता सबै कुरामा चिन्ता छैन । केपी ओलीले यस्ता कुरामा विचार पनि गर्नुहुन्न । उहाँलाई को मन लाग्छ, को बनाउँदा खुसी लाग्छ, त्यस्ता मानिसहरूलाई पार्टी केन्द्रीय कमिटीमा ल्याउनुहुन्छ । महिलालाई ल्याउँदा पनि धेरै दुःख गरेको, कपाल फुलाएका, आजीवन यो पार्टीमा लागेका महिलालाई छाडेर आफूलाई मन पर्ने, मन पर्ने केन्द्रीय कमिटी सदस्य बनाउँदै हिँड्ने संस्कृतिले गर्दा नै नेकपा बिग्रन गएको हो । मैले भनेको सारमा यही हो ।

अगाडि बोलेको पनि काटेर पछाडि बोलेको पनि काटेर गलत मनशायले राखिएको छ । यो भिडियो राखिनुभन्दा अगाडि मलाई सोधिनु पनि पर्छ । सन्दर्भविहीन ढङ्गले अलिकति काटेर राखेर भ्रम पार्ने काम भएको छ । यस्तो कृत्यप्रति म खेद व्यक्त गर्छ । मेरो मनशाय न महिला, न पुरुष कसैलाई अपमानित गर्ने छैन । प्रतिक्रियामा जसरी, जुन ढङ्गले मलाई गाली गरिरहनुभएको छ । मेरो आलोचकहरूले जुन प्रकारको निन्दा गरिराख्नुभएको छ । म यसप्रति कुनै टिप्पणी गर्न चाहन्न । सार्वजनिक जीवनमा आलोचना पनि हुन्छ । प्रशंसा हुन्छ ।

मैले कसैलाई अपमानित गर्ने ढङ्गले होइन कि, हामी ‘उठ, जाग हे भोका नाङ्गा..’ भनेर गीत गाउँथ्यौँ । तर पार्टीमा ‘पोइल जान पाम्’ जस्ता गीत–संस्कृतिले प्रश्रय पाउन थाल्यो । योग्यता, क्षमता, भएका थुप्रै मानिसहरू छन्, दुवैतिरको नेकपामा । जिम्मेवारी दिनेबेलामा त्यस्ता मानिसहरूलाई ध्यान दिनुपर्छ भनेर टिप्पणी गरेको केपी ओलीको प्रवृत्ति हो । त्यसलाई बङ्ग्याएर जसरी राखिएको छ, त्यसप्रति मलाई दुःख लागेको छ ।

व्यक्तिगत रूपमा कसैलाई लक्षित गरेर भनेको होइन । मेरो भनाइले कोमल वलीलाई चोट पुगेको छ भने त्यसप्रति म दुःख व्यक्त गर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय