स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियल १५औं पटक च्याम्पियन बनेको हो ।
पहिलो हाफको खेल गोलरहित बरारबरीमा सकिएको थियो । तर, रियलले दोस्रो हाफमा अन्तिम २० मिनेटमा दुई गोल गर्यो । ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि भिनिसियसले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । डर्टमण्डले पनि गोल गर्ने केही अवसर नाएको थियो तर सदुपयोग गर्न सकेन ।
च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो । रियलले एसी मिलानले जितेको ७ उपाधिभन्दा दोब्बर बढी उपाधि जितेको छ । सन् १९९७ मा च्याम्पियन्स लिग जितेको डर्टमण्ड २०१३ को फाइनलमा पनि पराजित भएको थियो ।
