विराटनगर महानगरपालिका– ३ मा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
विराटनगर ३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय नजिकै बम जस्तो देखिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । शंकास्पद बस्तु राखेर आतंक सृजना गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
मोरङ प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका– १ का ३० वर्षीय विपिन अधिकारी छन् ।
पक्राउ परेका दुई व्यक्तीले मोरङ सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा भूमिगत संगठनको नाममा चन्दा आतंक मच्चाइरहेको प्रहरीले बताएको छ ।
नेपाल कम्युनिट पार्टी( माओवादी)को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको थियो । चन्दा नदिए बम विष्टफोट गराउने धम्की समेत दिने गरेको थियो ।
पक्राउ परेका व्यक्तीको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा सात वटा डेटोनेटर, १८ फिट ३ ईन्च लम्बाईको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ । सहयोगका लागि लेखिएको पत्र, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, डायरी र एनसेलका पाँच वटा सिम वरामद भएको छ ।
अधिकारीको साथबाट पनि मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, सहयोग रसिदको ठेली, महासचिव महावीर नामको हस्ताक्षर रहेको सहयोग सम्बन्धी लेखिएको प डिजिटल स्टाम्पलगायत सामग्री बरामद भएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
