इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको उपाधि नजिक पुगेको छ । जापनिज क्लब उरावा रेड डाइमन्ड्सलाई ३–० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।
साउदी अरबको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा मंगलबार राति भएको खेलमा सिटीका माटियो कोभासिस र बर्नाडो सिल्भाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मारिअस होइब्राटेनले आत्मघाती गोल गरेपछि सिटी खेलमा १–० ले अग्रता लियो । ५२औं मिनेटमा माटियो कोभासिसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसपछि ५९औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको ३–० को सहज जित पक्का गरे ।
सिटीले उपाधिका लागि शुक्रबार ब्राजिली क्लब फ्लुमिनेन्सेसँग खेल्नेछ । फ्लुमिनेन्सेले इजिप्टको अल अहली एससीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।
सिटी युरोपको च्याम्पियन्स लिग विजेता तथा फ्लुमिनेन्से कन्मेवोल (दक्षिण अमेरिका) को कोपा लिबर्टाडोरेस विजेता क्लब हो । फिफा क्लब विश्वकपमा यि दुवै टोलीको यो पहिलो सहभागिता हो ।
