नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा उत्तरी सीमा क्षेत्रमा केरुङ–रसुवागढी– चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण सुरु गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि विभिन्न सम्झौता र समझदारी भएपनि संयुक्त व्यक्तव्य जारी भएको थिएन ।
मंगलबार बिहान मात्र सार्वजनिक भएको संयुक्त व्यक्तव्यमा ऊर्जा क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सबस्टेसनको विकासमा सहयोगलाई थप प्रवर्द्धन गर्दै केरुङ–रसुवागढी– चिलिमे प्रसारण लाइन बनाउने सहमति भएको उल्लेख छ ।
नेपालले चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि गरेको अनुरोधलाई चीनले सकारात्मक रुपमा लिएको उल्लेख छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा पनि अन्तरदेशीय प्रसारण लाइन र विद्युत व्यापारको विषयमा महत्वपूर्ण सहमति भएको थियो ।
