एसिया कपको समूह चरणको खेलमा आज नेपालले भारतसँग खेल्दै छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो । आजको खेल नेपालका लागि ऐतिहासिक हुनेछ ।
श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो ।
नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो । भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए।
समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर– फोरमा स्थान पक्का गरिसकेको छ । अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ ।
