नेपाली कांग्रेसका नेता एवं नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेता, कार्यकर्ताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा रहेको बताएका छन् ।
जनकपुरधाममा संवाद केन्द्रद्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा विभिन्न प्रदेशमा गरिएको छलफल र भेलामा स्थानीय नेताहरूको मत बुझ्दा आफ्नै पार्टीका जनप्रतिनिधिसमेत संविधान कार्यान्वयन गर्न नचाहेको सहितका गुनासो सुनिएकाले आफूलाई चिन्ता लागेको उनले बताए ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले संविधान निर्माण र घोषणाको नेतृत्व पार्टीले गरेको र मस्यौदाको संयोजकको जिम्मेवारीसमेत सम्हालेको हैसियतले संविधान बचाउने पहिलो दायित्व सिटौलाको भएकाले त्यसका लागि अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा मधेससहित देशभरिकै पार्टीका जिल्ला सभापति, सङ्घीय र प्रदेशसभा सदस्य, नेविसङ्घ, महिला सङ्घका जिल्ला तथा प्रदेशका अगुवाको उपस्थिति थियो ।
