Nepali Unicode | Preeti to Unicode

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ट्रयाल कोर्टले तीन वर्ष कैदको फैसला सुनाएको छ ।  तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्षसमेत रहेका उनलाई गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो ।

अदालतको फैसला लगत्तै खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ  गरेको बीबीसीले जनाएको छ ।

इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो ।

इमरानको पार्टी तेहरिक–ए–इन्साफले फैसला पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।

‘इतिहासकै सबैभन्दा नराम्रो मुद्दामा एक पूर्वाग्रही न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेको र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ,’ पार्टीका प्रवक्ताले वक्तव्यमा भनेका छन् ।

पाकिस्तान निर्वाचन आयोगका एक अधिकारी अमजद परवेजले अदालतको यो सजायपछि इमरान खान पाँच वर्षसम्म निर्वाचनमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर