फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार फरवार्ड किलीयन एमबाप्पेलाई एसिया भ्रमणको टोलीबाट बाहिर राखेको छ ।
प्रि-सिजनको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि पिएसजी एसिया प्रस्थान गर्दा एमबाप्पेलाई भने टोलीमा राखिएको छैन । सम्झौता नविकरणबारे क्लबसँग सहमति हुन नसक्दा क्लबले उनलाई हाल टोलीमा नराख्ने निर्णय लिएको हो ।
एमबाप्पेको नाम लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको छ । उनले अर्को सिजन फ्री एजेन्टको रुपमा रियल म्याड्रिड जाने मनसाय बनाएको आँकलन पिएसजीको छ ।
एमबाप्पेले अब क्लबले दिएको नयाँ सम्झौता नवीकरण गर्ने वा पुरानो सम्झौता अनुसार एक वर्ष हालकै सम्झौतामा थप गर्ने विकल्प छ । त्यसो नहुँदा पिएसजीले उनलाई अन्य क्लबमा बेच्ने अनुमान रहेको छ । उनलाई खरिद गर्न १ सय मिलियन युरोभन्दा माथिको माग पिएसजीले राख्ने आँकलन छ ।
सन् २०१७ मा १ सय ६५ मिलियन पाउन्डमा मोनाकोबाट पिएसजी आएका उनी विश्वकप दोस्रो महँगा खेलाडी हुन् । उनले पिएसजीको सर्वाधिक गोलकर्ता बन्ने क्रममा २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् ।
पिएसजीले नयाँ सिजनका लागि स्पेनिस प्रशिक्षक लुइस एन्रिकेलाई भित्र्याएको छ । गत सिजनको अन्त्यसँगै लिओनेल मेस्सीले क्लब छाडेपछि पिएसजीको आक्रमणमा असर पर्ने अनुमान रहेको थियो । अब एमबाप्पे पनि अनुपस्थित हुँदा नेयमारमाथि थप जिम्मेवारी हुनेछ ।
